बसस्टपमा यात्रुहरू गन्तव्यमा पुग्नका लागि बस कुरिरहेका थिए, म पनि त्यहीं समूहमा थिएँ । करीब पन्ध्र मिनेटपछि माइक्रोबस गति कम गर्दै आयो र सहचालकको इशाराबमोजिम चालकले माइक्रोबस साइड लगाएर रोके ।
एकजना पुरुष हतार हतारमा माइक्रोमा चढेर ढोकैबाट पछाडिका सीटहरू नियाले, उनले सबै सीटहरू भरिभराउ देखे । उनी चालकको पछाडिपट्टि जडित उल्टो सीटमा बसे । अगाडि महिला सीटमा बसेकी एक युवतीले ती पुरुषलाई निकै नियालेर हेरिन् । म भने उभिएको अवस्थामा यात्रा गरिरहेको थिएँ ।
पुरुषले जिन्स प्यान्ट अनि सेतो रङमा रातो छड्के धर्का भएको पातलो ज्याकेट लगाएका थिए । त्यस्तै पाल्ही क्याप लगाएकाले उनी युवक झैं देखिएका थिए । काठमाडौंमा जाडो बिस्तारै चढ्दै थियो । कालो चस्माले उनको मुहारलाई आकर्षक बनाएको थियो ।
उल्टो सीट र महिला सीटमा बसेका बीचमा आँखा जुध्नु स्वभाविकै थियो । युवतीले ती पुरुषलाई हेरी नै रहिन्, पुरुष पनि के कम ? उनले पनि ती युवतीको मुहारमा हेरी नै रहे । सहचालकको इशारा बमोजिम माइक्रो ठाउँठाउँका बिसौनीमा रोक्दै यात्रु ओराल्दै अनि चढाउँदै गर्ने क्रम चलिरहेको थियो । भित्र ती पुरुष र युवतीबीचमा निरन्तर रूपमा नजर जुधी नै रहेको थियो । ओर्लनुपर्ने बिसौनी कट्दासम्म ती पुरुषलाई पत्तो भएनछ । उनी युवतीको सुन्दर मुहारमा नजर लगाउँदैमा व्यस्त थिए । दुई स्टप परको बिसौनीमा पुगेपछि झ्यालबाट बाहिर दृश्यका संकेत देखेपछि ती पुरुषले आफू ओर्लिन बिर्सेको कुरा थाहा पाए र सहचालकलाई भने, “ए भाइ रोक रोक ।”
ती पुरुषयात्रु सीटबाट उठ्नुअघि खल्तीबाट जेष्ठनागरिक परिचयपत्र झिकेर देखाउँदै पन्ध्र रुपियाँ सहचालकलाई दिए । सहचालक पनि भ्रममा परेछन् र ती यात्रुको मुहारमा हेर्दै परिचयपत्र हेर्दै गर्नथाले ।
मैले युवतीलाई नियालें । उसको अनुहारले यही भनिरहेको थियो, “पहिरनले वृद्धलाई पनि जवान देखाउँदो रहेछ, म दृष्टिभ्रममा परेकी रहेछु ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।