उसलाई महँगो स्कुलमा भर्ना गरियो । ४ कक्षा नपुग्दै ल्यापटप, मोबाइल किनियो । हातमा मोबाइल देखेर बाबुआमा नै मख्ख ।

१२ कक्षापछि उसले  भन्यो, ‘म अब बाहिर पढ्न जान्छु ।’

बाबुआमाले नाइँ भन्न सकेनन् । पाखोखेत बेचियो, घाँटीको तिलहरी बेचियो, लौनोभैंसीको दाम्लो फुकाइयो र पढ्न विदेश पठाइयो ।

पाँच वर्षपछि ऊ स्वदेशमै नोकरी गर्न थाल्यो । परिवारमा हर्ष छायो ।

‘अस्ति डाँडाखर्के साहिँलाले बिहे कुरो निकाले, के गरौं खै ?’ बेलुकी तिलकरामले श्रीमतीलाई सुनाए ।

‘छोरो कमाउने भैसकेको छ, त्यसो भए भोलि नै राजधानी जानुस् त ।’ श्रीमतीले सम्झाइन् ।

भोलिपल्ट बिहानै तिलकराम सहरतिर लागे । बेलुकी डिब्बाको घिउ, बेसार, गुन्द्रुकका पोका छोराको अघिल्तिर राखिदिए । उनले छोरासित उत्साहपूर्वक भने, ‘यौटी राम्री कन्याको कुरो आएको छ, बाबु !  अब किन मौका गुमाउने, मिलेसम्म यही लाग्दो वैशाखमै जुराउनुपर्‍यो ।’

छोराले भने, ‘ए । मैले त एक महिनाअघि नै अन्तरजातीय लभ म्यारिज गरें, समाजको डरले कसैलाई पनि खबर गरिनँ ।’