ल्याब, वार्ड, प्यासेज, चउर छैन खाली कहीँ कतै
बिरामीका बिस्कुन देखिन्छन् बाटैदेखि जताततै

बल्लतल्ल पाएको मानिसको यो नश्वर चोला
यस्तो लाग्छ अर्बुद नलागेका शायद कोही होला

कतिका पाठेघर कतिका छैनन् जिब्रा, कान, स्तन
कोही भर्खरका सुत्केरी, कोही अविवाहितै भन्छन्

बालक वृद्ध कसैलाई नछाड्ने कस्तो दुष्ट क्यान्सर
यसकै कारण बन्दैछ भयावह दुनिया सारा संसार

कतिका फोक्सो, कलेजो कतिको छैन आन्द्रा, मिर्गौला
तथापि बाँच्न पाए भन्दछन् ती केही न केही गरौँला

त्यै आशमा जाय जेथा बेची रित्याई सब खर्च गरी
गर्दैछन् उपचार त्यहाँ लड्दै पड्दै जिउँदै मरी मरी

नेता जो अरबौँ कुम्ल्याउँछ खोटो छ उसको नियत
पैसा भए बाँच्थे ती नागरिक, तर छैन कुनै हैसियत

बालबच्चा घरद्वार भए बिराना, अस्पतालमै छ बास
‘बादलभित्र चाँदीका घेरा’ सबलाई छ बाँच्ने आश ।

भरतपुर, चितवन