पोखरा, २०७८ फागुन ७ / वि. सं. २०४६/०४७ को जनआन्दोलन सँगसँगै स्थपित एवं क्रियाशील साहित्य शृङ्खला, पोखराले आज यहाँ एक भव्य समारोहका बीच आफ्नो तेस्रो अधिवेशन तथा संस्थाको आफ्नै त्रैमासिक प्रकाशन आलोक शृङ्खला – १५ र संस्थाका अध्यक्ष स्रष्टा लोकनाथ पुडासैनीको कविता कृति ‘सिरानमा बस्नेहरू’ लोकार्पण एवं परिचर्चा कार्यक्रम सम्पन्न ग-यो ।
पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकालको प्रमुख आतित्थ्यता रहेको उक्त कार्यक्रममा साहित्यकार लोकनाथ पुडासैनीको कविता कृति ‘सिरानमा बस्नेहरू’ माथि प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य तथा अखिल नेपाल लेखक सङ्घका महासचिव नारायण मरासिनी र आलोक शृङ्खला–१५ को समीक्षक गीता तिवारीद्वारा सघन परिचर्चा गरियो ।
वरिष्ठ समालोचक तथा साहित्यकार प्रा डा रविलाल अधिकारी, वाम बुद्धिजीवी तथा लेखक रामराज रेग्मी, प्रलेस गण्डकीका अध्यक्ष लोकबहादुर थापा, मार्क्सवादी अध्ययन केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिना, संस्थाका पूर्व अध्यक्ष त्रय भीम रानाभाट, स्ट्रगल राना, यादवराज उपाध्याय, नारी वाङ्मय प्रतिष्ठान पोखराकी अध्यक्ष छन्दिका त्रिपाठी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका कार्यवाहक सचिव तथा सङ्गम सांस्कृतिक मञ्च, नेपालका अध्यक्ष काजी गाउँले, सचिव विकास लुङ्गेली, जनगायक नारायण बाँस्तोला, ओमविक्रम ओझा, वीरेन्द्र सूर्यवंशी लगायतका कलाकारहरूद्वारा जनवादी गीत सङ्गीत प्रस्तुत गरिएको उक्त कार्यक्रम संस्थाका कार्यवाहक सचिव काजी गाउँलेको सञ्चालन र अध्यक्ष लोकनाथ पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सभाद्वारा अधिवेशन सञ्चालनार्थ प्रा डा यदुनन्दन उपाध्याय, गण्डकी साहित्य सङ्गमका अध्यक्ष डा कृष्णराज अधिकारी र संस्थापक पूर्ण लामा रहेको तीन सदस्यीय निर्वाचन मण्डल घोषणा गरिएको थियो । तत्पश्चात अधिवेशनले संस्थाको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै निवर्तमान उपाध्यक्ष लक्ष्मी थापाको अध्यक्षतामा क्रमशः ताराप्रसाद तिम्सिना, उपाध्यक्ष, सचिव काजी गाउँले सचिव, सन्तोष न्यौपाने सहसचिव, लक्ष्मण गौतम हिमाली कोषाध्यक्ष र सदस्यहरूमा विकाश लुङ्गली, लीला पण्डित, गीता तिवारी, भक्त रसाइली, विष्णु सुवेदी र वीरेन्द्र थापा सूर्यवंशी रहेको ११ सदस्यीय कार्यसमीति चयन गरेको छ ।
सभाले आलोक शृङ्खलाको सम्पादकको जिम्मेवारी साहित्यकार स्ट्रगल रानालाई दिइएको छ । निवर्तमान अध्यक्ष लोकनाथ पुडासैनीले नवनिर्वाचित अध्यक्ष लक्ष्मी थापालाई विधान र निर्णय पुस्तिका हस्तान्तरण गरेपश्चात् निर्वाचन मण्डलका अध्यक्ष प्रा. डा. यदुनन्दन उपाध्यायले निवर्तमान कार्य समितिलाई धन्यवाद र नवनिर्वाचित समीतिलाई बधाई दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।