बारपाक सुलीकोट – ८, जराङबेसी गोरखामा जन्मी पोखरालाई कर्मथलो बनाई साहित्य सृजना कर्ममा लागेका सर्जक लोकनाथ पुडासैनीका दुई कृति ‘मलामी – भट्टी’ कथासङ्ग्रह र विविध सँगालो ‘खिचडी’ पोखरामा आयोजित सार्वजनिक र भर्चुअल कार्यक्रममार्फत लोकार्पण गरियो । भौतिक उपस्थितिमा भएको पहिलो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समालोचक प्रा.डा. रविलाल अधिकारीले कथाकृति ‘मलामी – भट्टी’ लोकार्पण गर्नुभएको थियो भने कृतिमाथि समीक्षकद्वय सह प्रा.डा. लक्ष्मीशरण अधिकारी र कल्पना चिलुवालले चिरफार गर्नुभएको थियो । त्यसैगरी अर्को एउटा भर्चुअल कार्यक्रममा समालोचक एवं गण्डकी साहित्य सङ्गमका अध्यक्ष डा. कृष्णराज अधिकारीद्वारा स्रष्टा पुडासैनीको दोस्रो कृति ‘खिचडी’ सार्वजनिक गरियो ।

साहित्य शृङ्खला, पोखराद्वारा नियमित रूपमा आयोजनामा गरिएका उपर्युक्त कार्यक्रममा वरिष्ठ वामपन्थी लेखक रामराज रेग्मी, पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व प्रमुख तथा विश्लेषक प्रा गेहेन्द्रेश्वर कोइराला, वरिष्ठ साहित्यकार प्रा.डा. भवानी पाण्डे भास्कर, प्रा.डा. यदुनन्दन उपाध्याय, सह प्रा.डा. पुण्यप्रसाद शर्मा, साहित्यकार एवं पूर्व मन्त्री त्रिलोचन ढकाल, नारायण परिश्रमी लगायतका व्यक्तित्वहरूले कृति तथा सर्जक लोकनाथ पुडासैनीका बारेमा प्रकाश पार्नुभएको थियो । सङ्गम सांस्कृतिक मञ्च नेपाल, पोखराका अध्यक्ष काजी गाउँले लगायतका कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहेको उक्त कार्यक्रममा सहभागी विभिन्न स्रष्टाहरूले आआफ्ना रचनासमेत वाचन गरेका थिए । विगत चालीसको दशक अघिदेखि साहित्य सृजनामा जुटेका सर्जक लोकनाथ पुडासैनी साहित्य शृङ्खला, पोखराका अध्यक्ष र प्रगतिशील लेखक सङ्घ तथा गण्डकी साहित्य सङ्गम जस्ता साहित्यिक संस्थाहरूमा आबद्ध हुनुहुन्छ । निर्माण प्रविधि विषयका विद्यार्थी पुडासैनीका हालसम्म संविधान अवसान कवितासङ्ग्रह – २०६९, टिम्मुर मुक्तक सङ्ग्रह – २०७०, चामल भात उपन्यास – २०७३, चड्याम्म मुक्तकसङ्ग्रह – २०७७ जस्ता साहित्यिक कृतिका अतिरिक्त काठ तथा काष्ठ प्रविधि – २०७२ र प्लम्बिङ-हस्तपुस्तिका – २०७६ साहित्यतर कृति समेत प्रकाशित भएका छन् ।

२०, २०७८ भाद्र