-“नमस्ते दिदी सन्चै हुनुहुन्छ?”

“नमस्ते अँ….. सन्चै,आज कताबाट हामीलाई सम्झिनु भो ? छोरीहरुको विवाहपश्चात त हामी भेटिन नै छाड्यौं नि!”

-“हो नि,खै ! भेट्ने खासै काम पनि परेन त्यही भएर होला ।”

उर्वशी र रञ्जना लामो अन्तरालपछिको भेटमा यसरी भलाकुसारी गरिरहेका थिए।

उर्वशीको मुहारमा सदा झैं हँसिलोपन र शरीरमा फुर्ती थिएन । बोलीमा पनि नरमपन थियो। उर्वशीको यस्तो परिवर्तित रुप देखेर रञ्जनालाई मनमा चिसो पस्यो । एकप्रकारले उनी अचम्म्भित पनि बनिरहेकी थिइन्।

केही समयसम्म त्यहाँको वातावरण शून्य जस्तो पनि थियो। उर्वशीको मौनताभित्र केही पीडा पनि झल्किइरहेको आभास हुन्थ्यो। तर रञ्जनालाई विश्वास थिएन कि उर्वशीलाई कुनै समस्या र पीडाले छुन्छ भनेर। यसअघिसम्म उर्वशीमा यस्तो ऊर्जा थियो कि, लाग्थ्यो उसमा कहिल्यै दुख र समस्या पर्छ वा हुन्छ भन्ने शङ्कासम्म गर्न सकिन्नथ्यो। किनकि उर्वशीको व्यवहार नै यस्तो थियो कि ऊ आफूलाई कहिल्यै निरीह र कमजोर ठान्दैन थिई र उसलाई अरुले विचरा भनेको पनि मन पर्दैनथ्यो।

मनमनै शङ्काले डेरा जमाए पनि रञ्जनाले धक फुकाएर उसलाई सोध्न सकिन कारण बिगतमा आफूलाई केही कुरा सोध्दा वा बुझ्न खोज्दा उर्वशीले रञ्जनालाई हेपाहा प्रवृत्तिले ठाडो जवाफ दिने गर्थी।

उर्वशीको मौनतालाई चिर्दै रञ्जनाले सोधी ।

-“बैनी अनि छोरी ज्वाईंको के छ हालखबर ? छोरीलाई त आराम छ नि ? बच्चाबच्ची हुने वाला छ कि ?”रञ्जनाको प्रश्नले उर्वशी झस्की नमज्जासँगले।अनि फोस्रो मुस्कान ओंठमा ल्याउँदै भनी।

-“के हुनु र ?दिदी त्यस्तै हो नि।”

उर्वशीको निरश जवाफ सुनेर रञ्जनाले धर्म सङ्कटमा पर्दै भनी,”के भो त्यस्तो ? त्यति धनाढ्य परिवारमा गएकी छोरी केमा कमी भयो र ? सधैँ छोरीको प्रशंसा गर्ने तपाईं। आज किन यस्तो निराश ? कुनै कुराको अभाव छैन होला ? मेरी छोरीले जस्तो दुख, अभाव खप्नु परेको छैन होला ? तपाईंले सधैँ मलाई भन्नुहुन्थ्यो। छोरीचेली दिँदा घर, घराना हेरेर दिनु पर्छ भनेर।आफ्नो त छोरीको भाग्य नै खोटो रहेछ। गरीब घरानामा परी।”

रञ्जनाको कुराले उर्वशीको मनमा चसक्क बिझ्यो। उसले निन्याउरो मुख लाउँदै भनी,”दिदी घर, घराना भनेको सम्पन्नता मात्र होइन रहेछ। उच्च विचार, संस्कार अनि आत्मीयता नै सबैभन्दा ठुलो सम्पन्नता रहेछ। मैले मेरी छोरी ठुलो घराना र सम्पन्न परिवारमा परी भनेर धेरै पटक तपाईंलाई र छोरी सन्ध्यालाई हेलाको नजरले हेरेर खिशिट्युरी गरेँ।आफ्नी छोरीको सम्पन्नताको अहंमता पोखें तपाईंलाई। तर आज म आफ्नै छोरीले सम्पन्नताभित्र बाँच्नु परेको लाचार जीवनसँग आजित छु। छोरीले अत्ति कष्टकर जीवन भोग्नु पर्यो र मैले छोरीलाई यतै ल्याएर राखेकी छु।त्यसैले आज तपाईंसँग छोरीको कामको लागि केही भन्न आएकी हूँ।”

“अनि सानोतिनो दुख, सङ्कट पर्दैमा छोरीलाई माइत ल्याइहाल्ने हो त ? अलि अलि समस्या त भइहाल्छ नि ! सङ्घर्ष गर्न सिक्नु पो पर्छ त ! पहिले दुख अनि सुख। तपाईंले त्यसरी माइत बोलाइ हाल्नु हुन्नथ्यो छोरीलाई। जिन्दगी त लामो पो छ त ! कैलेसम्म माइतमा राखेर तपाईंले भर दिनु हुन्छ ? आफ्नो घर गरि खानु पर्छ आखिरमा।” रञ्जनाले यति भनी नसक्दै…

उर्वशीको आँखा टिल्पिलाई सकेको थियो । ऊ भनिरहेकी थिई, “मैले कहाँ ल्याएकी हूँ र ? उसको घर परिवारले नै हाम्रो स्तर मिलेन तपाईंकी छोरीलाई घरानियाँ जीवन कसरी बाँचिन्छ ? राम्रोसँग सिकाएर पठाउनुहोस् ।भनेर पठाए ।”

उर्वशीको कुराले रञ्जना तीनछक्क पर्दै एकोहोरो टोल्हाई रहिन् ।