अस्कलले गणितमा पैँसट्ठी अङ्क ल्याएकोमा भूकम्प आयो, उसलाई पढाउने शिक्षकहरूमा ।

– “यसको अक्षर पनि हैन । कसैको सारेको पनि छैन । कसैलाई लेखाएको हो ?”

– “कक्षामा सधैँ कमजोर भएको मान्छे परीक्षामा उम्दा भएको प्रमाणित भए म दुवै कान काटेर पातमा राखिदिन्छु ।”

– ” त्यसको फेरि परीक्षा लिऔँ । यति राम्रो अङ्क ल्याएछ भने म मेरो नामको सारा सरिखुरी त्यसकै नाम गरिदिन्छु ।”

शिक्षकहरूका यस्ता  हेला-होचाका   कुरा सुनेर अस्कल भित्रभित्रै जल्न थाल्यो । मनको आक्रोशलाई ध्वनिको रूप दिने सामर्थ्य थिएन उसमा ।

उसको परीक्षा लिइयो । उसले पचासी नम्बर ल्यायो । अनपेक्षित परिणामले शिक्षकहरू नतमस्तक बने । उसलाई रहस्य खुलासा गर्न भनियो ।

उसले भन्यो, “पहिले म समस्याबाट तर्सेर भाग्थेँ अहिले जुध्न थालेँ ।अनि जीवन-सङ्घर्षकाे बाजी हात पार्न सक्षम हुँदै गएँ ।”