चार लेनको बाटोमा म देब्रे साइडको देब्रे लेनमा मोटरसाइकल दौडाउँदै थिएँ ।

मेरो पछाडिपट्टि हुइँय गर्दै अलि अस्वाभाविक गतिमा गाडी हुइँकेको आवाज आयो ।

सोचेँ– ‘एम्बुलेन्स होला ।’

होइन पो रहेछ । प्रहरीको भ्यानगाडी परेछ । मभन्दा दाहिनेपट्टिको लेनबाट हुइँकिएर आएको प्रहरीको त्यो गाडी मेरो मोटर साइकललाई नै छोऔँला झैँ गरी म भएको लेनतिर छिर्न खोज्यो ।

म आफ्नो लेनमा भएकाले मैले पनि प्रहरीको गाडीभन्दा आफ्नो मोटरसाइकल अगाडि छिराउन खोजेँ । तर गाडीभित्रको एउटा प्रहरीले गाडीको झ्यालबाट हात निकालेर मलाई रोकिने इशारा गर्दै ठाडो स्वरमा भन्यो– ‘ओए, रोक ।’

‘दाहिने लेनबाट आएर जबरजस्ती देब्रेतिर च्याप्ने चाहिँ तपाईँ, अनि रोकिनुपर्ने चाहिँ देब्रेतिर आफ्नो लेनमा हिँडिरहेको म ?’ प्रहरीसँग प्रश्न गरेँ ।

‘देखिनस्, यो पुलिसको गाडी हो ।’ उसले कर्कश आवाजमा भन्यो ।

‘के पुलिसले चाहिँ नियम मान्नु पर्दैन ?’ मैले पनि अड्डी कसेँ ।

‘पुलिसलाई प्रश्न गर्छस् ?’ गाडीभित्रको अर्को पुलिस बोल्यो ।

‘पुलिसले चाहिँ बाटोमा लेन अनुशासन पालना गर्नुपर्दैन भन्ने कुनै कानूनमा लेखेको छ र ?’ म पनि झनै दृढ भएँ ।

यत्तिकैमा एउटा प्रहरी गाडीबाट ओर्ल्यो र मलाई आदेश दियो– ‘लाइसेन्स निकाल ।’

म र प्रहरी बिचको सडकसम्वाद हेर्न रमितेहरू जम्मा भैसकेका थिए । तर ती कोही बोलिरहेका थिएनन् ।

मैले मन नलागी नलागी लाइसेन्स निकालेर प्रहरीको हातमा थमाएँ । उसले मेरो हातमा चिट थमायो ।

चिटमा आरोप थियो– ‘प्रहरीसँग मुखमुखै लागेको ।’