रामप्रसाद हतारहतार कार्यालयतिर लाग्यो । भर्खर मात्र दश बजेको थियो । अफिसमा जाँदै गरेको भए पनि उसको ध्यान त्यहाँ थिएन, उसले भर्खर अस्पतालमा भर्ना गरेकी छोरी र श्रीमतीको निन्याउरो अनुहार सम्झिरहेको थियो ।

दुर्भाग्यवश अफिसमा हाकिम आएर बसिसकेको थियो । रामप्रसादले झुकेर नमस्कार गर्‍यो तर हाकिमले उसको नमस्कार नफर्काएर उसलाई हकार्दै भने, ‘क्या हो रामप्रसादजी आउने टाइम यही हो ? टाइममा अफिस आउन सकिन्न भने राजीनामा दिएर घरमै बसे हुन्छ ।’

रामप्रसादले आफ्नो अवस्था सुनायो । नसुने झैं गरी आइन्दा ढिलो आए कारबाहीमा पर्ने चेतावनी हाकिमले दियो ।

रामप्रसादका सहकर्मी श्यामप्रसादले १२ बजे अफिसमा पाइला टेक्यो । हाकिमको कोठामा पस्दा श्यामप्रसादले हातले सुर्ती माडिरहेको थियो ।

‘हे हे..’ दन्तपंक्ति देखाउँदै हाकिमलाई नमस्कार टक्रायो । र, माड्दै गरेको सुर्ती पनि हाकिमलाई टक्रायो ।

‘क्या हो, श्यामप्रसादजी हाँस्दै हुनुहुन्छ नि ?’ हाकिमद्वारा सोधनी भयो ।

‘के कुरा गर्ने सर, हे हे’ श्यामप्रसाद फेरि हाँस्यो ।

‘कुरो के हो सुनौं न ?’

‘कुरो के भने…’ सोफामा बस्दै श्यामप्रसाद बोल्यो ।

‘म अफिस आउँदै थिएँ । बाटोमा आउँदा त्यो कांग्रेसी छ नि, त्यो के छ्याकटे कपिले अँ.. त्यसको घर अगाडि आइपुग्दा कताबाट हो कुन्नि ऊ पनि टुप्लुक्क त्यहाँ आई आफ्नो घरतर्फ लाग्यो । ऊ घरभित्र पस्नलाग्दा उसको कुकुर बेस्सरी भुक्न थाल्यो । त्यो कपिलेले ‘चूप लाग’ भन्दा पनि मान्दै मानेन त्यो कुकुरले । अब हेर्नुस् न, आफैले पालेको कुकुरले आफैलाई नटेर्दा त्यो कपिलेको हालत के भयो होला ?

‘हे हे हे..’ हाकिम हाँस्यो, साथमा श्यामप्रसाद पनि । धेरै बेरसम्म कोठामा हाँसो गुन्जियो ।

‘यो त कांग्रेसीहरूको पतनको लक्षण हो जस्तो लाग्यो मलाई ।’ हाँसो रोकिएपछि हाकिमले भन्यो ।

‘पक्कै हो ।’ सही थाप्यो श्यामप्रसादले ।

‘आफूले पालेको कुकुरले समेत टेरेन भने उनीहरूको पतन त्यसै पनि हुने नै भयो नि ।’

‘हेर्नोस् न हिजो म घर फर्कंदा त्यो कुकुर पुच्छर हल्लाउँदै मेरो पछिपछि गएको थियो, मैले गाली गर्ने बित्तिकै फर्क्यो ।’ उसले फेरि थप्यो ।

‘यो त हाम्रो पार्टीको लोकप्रियता बढ्दै गएको लक्षण हो ।’ हाकिम बोल्यो ।

कुकुर पछि लागेको कुरा सुनाएर हाकिमलाई मक्ख पार्दै श्यामप्रसादले हाजिरी गर्‍यो । हाकिमले फुरुक्क पर्दै दुई कप चिया मगायो ।

उता पल्लो कोठामा रामप्रसाद आफ्नो बिरामी छोरीलाई सम्झँदै पसिना चुहाउँदै काम गरिरहेका थियो ।