लोग्ने बितेपछि उनले सेतो वस्त्र पहिरिइन् । कुसामाजिक मान्यतालाई सहजै स्वीकार गरिन् ।

शुभ कार्यमा हिँड्नेहरू उनलाई देख्ने बित्तिकै धारे हात लगाउँथे – “थुइक्क, कुसाइत पर्‍यो”

उनी चुपचाप सहन्थिन् । आफ्नै पारामा हिँड्थिन् ।

गाउँमा हुरी चल्थ्यो – “लोग्ने टोकुवा ।”

उनी कुनै नरसँग बोलिन् भने गाउँमा सुनामी आउँथ्यो – “अब कसलाई डस्ने हो ?”

उनलाई असह्य हुन्थ्यो । अनि आफ्नै भाग्यलाई दोष दिन्थिन् – “मेरो कर्मै खोटो ।”

अवहेलना र टोकेसोले उनलाई डिप्रेसनको बिरामी बनायो । घरको दलिनमा सेतो सलको पासो लगाइन् र देह त्याग गरिन् ।

उनको लासलाई मसानघाट लगिँदै थियो ।

एक थान महिलाका जत्थाहरू कामतर्फ जाँदै थिए । उनीहरूले लासलाई प्रणाम गरे । र कानेखुसी गरे – “आज चाहिँ राम्रो साइत पर्‍यो । “