शहीदगेटमा मातातीर्थ जाने बस कुरेर बस्दा अकस्मात् पुरानो साथी सुवर्णसित जम्काभेट भयो । ऊ पनि थानकोट जाने गाडी कुरेर बसेको रहेछ ।
‘ओहो ! ३५ वर्षपछि बल्ल भेट भइयो ! के छ हालखबर ?’ मैले हात मिलाउँदै सोधें ।
‘के हुनु नि यार ! मेरो त बेहाल छ ।’ उदाश हुँदै बोल्यो सुवर्ण । अनि हामी दुवै चन्द्रागिरि यातायातको बसमा चढ्यौं र अन्तिम सिटमा गएर बस्यौं ।
‘भन ,कस्तो बेहाल हो त ! अनि के गर्छौ नि अचेल ?’ मैले उत्सुक हुँदै सोधें ।
‘कलेज सकिएपछि १३ वर्ष इराक गएर आएँ । अनि आएर बिहेबारी गरें । तर श्रीमती गाउँमा बस्न मानिन । काठमाडौंमा कोठा लिएर बस्ने र उतै घर किन्ने भनेर हामी काठमाडौं आयौं । इराकबाट ल्याएको ५० लाख र गाउँको घरखेत बेचेको ५० लाख गरी १ करोड उसैको खातामा राख्ने भनेर जिद्दी गरी । मैले पनि त्यसै गरिदिएँ । ‘ त्यसपछि ऊ अकमकायो ।
‘राम्रै प्रगति गरिएछ त सुवर्णजी !’ मैले धाप मार्दै भनें ।
‘अनि मेरा दु:खका दिन सुरु भए । यति रकमले घर आउँदैन ,अझै कमाएर ल्याउनु भनी मलाई साउदी अरब पठाई । त्यहाँबाट पनि १५ लाख पठाएँ । तर ‘ उसको गला अवरुद्ध भयो ।
‘अनि नर्सरी पढ्दै गरेको मेरो छोरो गाडीले किचेर मरेछ । साउदीबाट म आउँदा ऊ अर्कैसित हिंडिसकिछ । ‘
‘पैसाको त माया मार्न सकिन्छ । फेरि कमाउन नि सकिन्छ । तर निराश हुन हुँदैन है !’ मैले भनें ।
‘निराश यसकारण छु कि उसकै आग्रहमा मैले स्थायी बन्ध्याकरण गरेको थिएँ । भएन त बेहाल !’ उसले रुँलारुँला झैँ गरेर भन्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










