माल अड्डाबाट निस्कने बित्तिकै शम्भुराम काका सडकमै लडे । देख्नेहरूले उनलाई हम्कँदै हतार हतारमा ग्लुकोजपानी खुवाए । तत्कालै बन्दकर्ताहरूले एम्बुलेन्स बोलाए । उनले आफ्नै घरनेरको हस्पिटल लैजान संकेत गरे ।

एम्बुलेन्सले केही घण्टामै अस्पतालको आकस्मिक कक्षमा ओराल्यो । उनले आँखा खोल्दै, पेट समात्दै मन्द स्वरमा बोल्न थाले ।

डाक्टरले आँखा, जिब्रो एकएक चेक गरे । पेटमा स्टेथेस्कोप घुमाए । काकाले पटुका च्याप्प समातेर तलतिर सारे ।

‘के भएर आउनु भयो, बुबा ?’

‘खै ! एक्कासी के भो, के भो !’

‘पहिले पनि केही हुन्थ्यो ?’

‘हुँदैनथ्यो हजूर ।’ काकाले जवाफ फर्काए ।

‘अहिले त्यस्तो केही देखिएन हजूर । समस्या परे फेरि आउनु होला ।’ डाक्टरले सम्झाए ।

त्यसपछि उनी नजीकै रहेको घरमा हिंडेरै पुगे । नेपाल बन्दको दिन पनि पहाडबाट दिउँसै जग्गा बेचेर आएको देखेर श्रीमतीले चकित पर्दै सोधिन्, ‘कसरी आजै गाडी पाउनुभो ?’

काकाले भने, ‘जुक्ति जान्यो भने के असम्भव छ र !’

त्यसपछि उनले हत्तपत्त पटुका फुकालेर बूढीका अघिल्तिर नगद राखिदिए ।