भ्रष्टाचारको सुरुवात

“मन्त्रीज्यूले समय दिनुभयो । अब कार्यक्रमको राम्रो प्रचार हुन्छ । ” आयोजना प्रमुख प्रसन्न हुँदै भन्नुभयो ।

“खर्च त अलि बढी लाग्छ सर, कसरी व्यवस्थापन गर्ने हो ?” लेखा प्रमुखले भन्नुभयो ।

“के गर्ने प्रचार गर्न अलि अलि खर्च गर्नै पर्यो ।”

फोन बज्यो । आयोजना प्रमुखले उठाउनुभयो ।

फोन राखेपछि आयोजना प्रमुखको अनुहार गम्भीर देखियो ।

“कसको फोन रहेछ सर ?” लेखा प्रमुखले सोध्नुभयो ।

“मन्त्रीज्यूले अरु कुरा पि.ए. ले गर्नुहुन्छ भन्नु भएको थियो उहाँकै फोन हो । मन्त्रीका मान्छे आठजना आउने रे, उनीहरू समेतको जहाजको टिकट र होटल खर्च ब्यहोर्नु पर्ने भयो ।” आयोजना प्रमुखले भन्नुभयो ।

“एक पटक लल्लुलाई फोन गर्नै पर्ने भयो सर ।” लेखाप्रमुखले भन्नुभयो ।

“के गर्ने काम समयमा नसकेर हिजो बोलाएर थर्काइयो, आज उसैलाई फकाउनु पर्यो ।” भन्दै आयोजना प्रमुखले फोन गर्न थाले।

“…. मन्त्रीज्यू आउने हुनु भयो । … खर्च ब्यहोरेर सहयोग गर्नु पर्यो … हाम्रो अरु त छँदै छ… हाहा …ल ठिक छ… ।”

===

 

खर्च कटौती

“के बसमा फर्कनु यार, पख् गाडी मगाउँछु ।” उसले भन्यो ।

“बसमा गए भयो नि बेकारको खर्च किन गर्ने ?” साथीले भन्यो ।

“कुरा गर्छ । पार्टी सत्तामा भएको बेलामा मोज नगरे कहिले गर्ने त ? उनीहरुलाई मन्त्री बनाएका हामीले त हो ।” भन्दै फोन गर्न थाल्यो ।

“मन्त्रीज्यू हामीहरुलाई फर्कन गाडीको व्यवस्था गरिदिनु पर्यो ।” उताबाट फोनमा बोलेको सुनियो, “ कहाँ जानु भएको थियो र ?”

“गाउँमा मेला लागेको रहेछ यसो हेरौँ भनेर आएको ।” उनीहरु मेलामा रमाए । फर्कने समयमा सरकारी गाडी आयो ।

उनीहरु चढे । गाडीभित्र एफ.एममा समाचार आएको थियो, “सरकारी खर्चमा कटौती गरिने …।”