“ए बा आज सात बजे सम्म सुतिरहने ?” नातिको घचघच्याइले पनि बा बोलेनन् ।

“यति ढिलो सम्म त कहिल्यै नसुत्ने मान्छे ! हन आज अचम्म भयो ?” उसले बाको छातीमा कान टाँसेर सुन्यो ।

ढुकढुकी त छ । नाडी छाम्यो मन आत्तिएकाले भेउ पाएन । बाको जिन्दगीको अन्तिम समय आइरहेको देखेर परिवार सबैले वैतरणी र गीता, रामायण पाठ गर्ने निश्चय गरे । बिमारीको हल्ला गाउँभरि नै फैलियो । हेर्न आउनेको घुइँचोले आँगन भरियो । बिमारीको अघि रातो र कालो लुगा लगाएर कोही पनि नजानु भन्ने सल्लाह थियो । मुटु कमजोरी भएको मान्छेलाई ठूलो झट्‌का पनि आउन सक्थ्यो ।

बाको अति नै भरपर्दो छिमेकी रामनारायण हस्याङफस्याङ गर्दै आए । उनको बोली सुन्नेबित्तिकै बाको अलिअलि होश आयो । एउटा हात र खुट्टा हल्लियो । रामनारायणले आँखा तन्काएर बाको नाडी छामे आँखा च्यातेर हेरे ।

उनले हिजो मात्रै सरकारको ठूलो घोषणा बालाई सुनाएको थियो । कानमा चिच्याएर भने, “बा चिन्ता नगर्नुहोस्, गुलाबी दुई हजारको नोट बैंकले साटिदिन्छ । डिसेम्बरसम्मको समय छ ।”

त्येति बेलासम्म बाको मुठीले जनैमा झुन्डिएको चाबीलाई बेस्सरी कसेको थियो ।

 

असम, भारत