“नानू मलाई हनुमानस्थानमा रोकिदिनु ल ।” हात र मुख एकसाथ चलाउँदै १५ रुपियाँ भाडा तिरिन् ।

ट्याम्पु चालक – भाडा २० रुपियाँ हो, पाँच रुपियाँ पुगेन आमा ।

वृद्ध यात्रु – म बिहान पनि यही ट्याम्पुमा गएको १५ रुप्पे नै हो तिरेको ?

ट्याम्पु चालक – १५ रुपियाँ भाडा हुँदै होइन, म पनि सानाबाबु नानी छाडेर ट्याम्पु चलाउन हिंडेकी हुँ, जम्मा तीन जना यात्रु छन्, छुट दिन सकिन्न ।

नयाँ बानेश्वर चढ्ने यात्रुले रु १० निकालेर ट्याम्पु चालकलाई दियो, फिर्ता आएको ५ रुपियाँ, वृद्ध यात्रुलाई दियो । बूढी आम्मैको अनुहार अमिलियो ।

ट्याम्पु चालक – नहुनेलाई सहयोग गर्नु नि, गर्नेले पनि ….

वृद्ध यात्रु – मसँग पैसा नभएको होइन, ब्यागबाट निकाल्छु भन्दा लड्छु भनेर हो क्यारे …

हेन्सी केटो – हैन के आमा राख्नुहोस्, मलाई आशीर्वाद दिनुहोस्, पैसा राख्नुहोस्, केही फरक पर्दैन ।

वृद्ध यात्रु – …. रोग नलागोस्, म चौरासी पुगें, बुद्धपूर्णिमाका दिन पर्सि चौरासी पूजा छ, मैले दिएको आशीर्वाद लाग्छ । पर्सि आउनु ल प्रसाद खान, भाटभटेनी पछाडि घर छ, त्यहीं हो पूजा, भैरहवामा पनि घर छ, गर्मी भएर यहीं गर्न लागेको ।

हेन्सी केटो – राम्रोसँग पूजा गर्नु, भइहाल्यो । म त बाहिर जान लागेको, अस्ट्रेलिया….

वृद्ध यात्रु – मेरो भाइ पनि अस्ट्रेलियामा डाक्टर छ, मेरा आफन्तहरू पनि अमेरिकामा डाक्टर छन् …

अनि वृद्ध यात्रु पाँचको नोट च्यापेर ट्याम्पुबाट ओर्लिइन् ।

सम्पत्ति र परिवारको गफ अनि चौरासी पूजाको निम्तो दिइरहेकी वृद्ध महिलालाई भतभती पोलिरहेको बाहिरबाटै अड्कल गर्न ट्याम्पुका अरू यात्रीहरूलाई कुनै अप्ठ्यारो परेन ।

ट्याम्पुमा भएको अर्को यात्रु बोले, ‘बुढीआम्मैले पूरै भाडा तिरेको दिन घर, सम्पत्ति र आफन्तको बखान गरेको भए कत्ति सुहाउँथ्यो ।’