कतै ठाडो उकालो, धेरै जसो तर्पायाँ, करीब १५-२० मिनटको स्कूल जाने बाटो ! उकालोमा चटक्क मिलाएर लगाएको सिँढी । आडमै गाईबस्तु र भारी बोकेर हिंड्नेको लागि खोल्सो परेको ठाउँ । बाटा दुवैतिर पर्खाल ।

एउटा चाँपको रूखको लामो गिँड (मुढो) दुवैतिर पर्खालमा अडिएर बसेको थियो । मेरो हाई स्कुल त्यही बाटो हिंडेर बित्यो । मुढोको माथि अबिर र धजाधजी देखेर म सधैं तलबाट छिरेर जान्थें । त्यो बाटोको प्रयोग गर्नेले त्यसै गर्दा रहेछन् । मुढोलाई नाघेर जाने कसैको आँट आएन ।

उच्च शिक्षाको लागि गाउँ, जिल्ला छोडे पनि प्रत्येक वर्ष बडा दशैंमा घर पुगिन्थ्यो नै । महानवमीको दिन हाई स्कूलमा मिलन समारोह मनाउन नगै छोडिएन । पहिले जस्तै मुढोको माथि पाती र ढुङ्गा राखेर तलबाट छिरेर गएको हुँ ।

जागीरे भएपछि भने गाउँको आवतजावतमा कमी आयो । बडा दशैंमा घर गएको बखत मिलन समारोहमा जान निस्किएँ । आमासित मागेर अलिकति अबिर कागजमा पोको पारें । पातीका पात बाटामै पाइने भैहाल्यो ।

भरखर खुलेको पाणिनी विद्यालय कटेर पुरानै बाटो समातें । जब सिँढीमा पुग्छु, त्यो मुढो त छैन । सन्दिग्ध हुने स्थिति पैदा भयो । मेरा पैताला अगाडि बढ्न सकेनन् । मानसिक अनिश्चितताले किंकर्तव्यविमूढ भएँ, खै त्यो मुढो ? यताउता कोही देखिन, अगाडि बढ्न मन लागेन ।

फर्किएर तल आउँदै थिएँ, पाणिनि विद्यालयका प्रधानाध्यापक भेट भए । उनैबाट थाहा पाएँ, त्यो मुढो टुक्र्याएर पाणिनि विद्यालयको लागि टेबुल-कुर्सी बनाएका रहेछन् ।

मनमा एउटा कौतूहल रहिरह्यो, मुढोलाई टेबुल-कुर्सी बनाउँदा अबिर र धजाधजी के गरे होलान् ?