काठमाडौँ । लघुकथा समाज, नेपालले दुई प्रतिभावान् कथाकारलाई सम्मान गरेको छ । आज सम्पन्न एक समारोहमा कथाकार ध्रुव सापकोटा र किशन पौडेललाई जनही २१ हजार १ रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको हो ।

सावित्री–केशर कथा सम्मानबाट सापकोटा तथा बाटुली–खिलध्वज लघुकथा सम्मानबाट पौडेल सम्मानित हुनुभएको हो । अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले पुरस्कृत कथाकारहरूलाई बधाई दिँदै समाजको स्थापना (विसं २०६२) देखि नै साहित्यमा योगदान पुर्‍याउने थुप्रै व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको स्मरण गराउनुभयो ।

छनौट समितिका संयोजक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले स्रष्टा चयन प्रक्रियाबारे प्रकाश पार्नुभयो भने श्रीबाबु कार्कीले पुरस्कृत स्रष्टाहरूको संक्षिप्त परिचय गराउनुभएको थियो । लघुकथा समाज, नेपालका अध्यक्ष गोपाल अश्कको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण तारा केसीले गर्नुभएको थियो ।