पत्नीको देहान्त भएपछि साठी वर्षको उमेरमा देवराज एक्ला भए । उनका छोराछोरी सबै अस्ट्रेलियामा स्थायी बसोबास गर्छन् । उनीहरू उतै घरजम गरी बसेका छन्, यताको घर सम्झन छोडे । छरछिमेक र इष्टमित्रले उनलाई अर्को विवाह गर्न सुझाव दिए । उनले मानेनन् । इष्टमित्रले उनलाई बुढेसकालमा सहारा चाहिन्छ, बिहे गर भनी सम्झाए । सबैले कर गरेपछि उनले स्वीकृतिको टाउको हल्लाए । इष्टमित्रले नै उनलाई एक उपयुक्त कन्या खोजिदिए । उनको विवाह भयो ।
अब उनको नयाँ पारिवारिक जीवन चल्न थाल्यो । कालान्तरमा उनको एउटा छोरो पनि जन्म्यो । छोरो हुर्कंदै गएपछि उसलाई स्कूलमा भर्ना गरिदिए । आफू बूढो र असक्त हुँदै गए पनि उनले छोराका सबै आवश्यकताहरू पूरा गर्दै गए । उनी असी वर्षका भए पछि छोरो कम्प्युटर साइन्समा स्नातक भयो । छोराले नेपालमै बसी केही काम गर्ला र बुढेसकालमा आफ्नो सहारा बन्ला भन्दा भन्दै छरछिमेक र समाजलाई जिल्ल पारी आज ऊ उच्च अध्ययनको निम्ति अमेरिका प्रस्थान गर्ने भयो । उनकी श्रीमती पनि पचपन्न वर्षकी भइन् । बुढाबुढीको बुढेसकालको सहारा भनिएको एउटा भएको छोरो पनि आज ती दुवैलाई छोडी विदेशियो ।
अध्ययन गर्न विदेश हिंडेपछि प्रायः घर नफर्कने उदाहरण स्थापित भइसकेको समाजमा ती दम्पतीको सहारा भनिने एउटा लौरो पनि आज भाँचियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









