नारायणघाटमा उधुम चहलपहल थियो । देशकै मुटुमा रहेको सहरले पूर्वदेखि पश्चिमको गति र प्रगतिलाई आत्मसात् गरेकै थियो ।

उद्योगी, व्यापारी, मजदुर र कामदार सबै व्यस्त छन् । रिक्साचालक श्यामबहादुर छ, मगनमस्त । आज उसले चार घण्टा रिक्सा चलाएर पन्ध्र सय रुपैयाँ कमाइसकेको छ । बस् ! त्यो उखरमाउलो गर्मीमा एक बोटल चिसो बियर समातेर त्यही रिक्सामा चुस्कीसँगै सुस्ताइरहेको छ ऊ ।

“ए, श्यामबहादुर !” कसैको आवाजले उसको एक मनको तन्द्रा भङ्ग भयो ।

त्यो थियो रिक्साको साहु, झ्यालबाट च्याँठिँदै बोले, “बियर पिएर बसी रा’छस् ? खै, कसरी काम गर्छस् ?”

“आजलाई पुग्यो हजुर ।” श्यामबहादुरले हाई काट्दै भन्यो ।

साहुले घडीमा हेर्दै भन्यो,“बल्ल त एक बज्यो ।”

“तपाईंको भाडा र बियर कटाएर एक हजार बच्या छ” उसले फेरि हाइसन्चो भन्यो, “आजलाई पुग्यो हजुर ।”

“तेरो बुद्धि !”  साहुले अर्तिको स्वरमा भन्यो, “दिनैभरि काम गर, अनि अर्को एक हजार कमा ।”

“त्यति धेरै कमाएर के गर्नु छ र ?” श्यामबहादुरले भन्यो ।

“हरेक दिन एक हजार बढी कमाइस् भने महिना दिनमा आफ्नै रिक्सा किन्लास् । अलि धेरै कमाए ई-रिक्सा किन्लास् । एक भए, त्यसपछि दुइटा बनाउलास् । दुईबाट चार, चारबाट आठ, …” साहुले भन्यो, “एक दिन मजस्तै कार पनि चढ्लास्, तेरो बुद्धि भए !”

“बियर पिएर कार चढाउन पाइन्छ र ? मापसे लाग्ला नि !” श्यामबहादुरले फिस्स सोध्यो ।