दुई उपन्यास लेखिसकेका गोपी सापकोटालाई मैले चिनेको उनको बिम्बात्मक ‘बिर्यानी’ कविताले हो । लक्ष्मीप्रसाद देवकोटालाई ‘पागल’ कविता मन परे जस्तै शायद गोपी सापकोटालाई ‘गोपी सापकोटा बिर्यानी पकाउँछ’ कविता मन पर्दो होला, मेरो आकलन मात्र! त्यो कविताले होनहार युवाको प्रवासी जीवनको साङ्गोपाङ्गो भाव बोकेको छ र सरल शब्दहरूमा शक्तिशाली कविता कस्तो हुन्छ भन्ने  नमूना सापकोटाले देखाएका छन् ।

अहिले यहाँ चर्चा गर्न खोजेको उनको कविताबारे होइन, उनको गत वर्ष प्रकाशित गैरआख्यान पुस्तकबारे हो । उनको बिर्यानी कविताले नै हो मलाई उनका अरू कृति पढ्ने निम्तो दिएको हो ।

‘लन्डन अनप्लग्ड’ गोपी सापकोटाद्वारा लेखिएको एक पठनीय, भावनात्मक र आत्मीय अनुभवहरूको सँगालो हो, जसले लन्डनको सेरोफेरोमा रहँदाको आफ्नो सांस्कृतिक पहिचान, प्रवासी अनुभव, र अनेकन प्रेम प्रसङ्गहरूलाई नेपाली पाठकहरूका निम्ति उजागर गर्छ । गोपी, जो एक अनुभवी लेखक र नाटककार पनि हुन्, आफ्ना देशी-विदेशी साथीहरूसँगको सम्बन्ध, बेलायतको सडकहरूमा भेटिने नेपाली र अंग्रेजहरूको वास्तविक कथा, र आफ्नै जरा बुझ्ने प्रयासको भावुक यात्रा प्रस्तुत गर्छन्, यस गैरआख्यानमा ।

यसमा सन् २००८ मा लेखक लन्डन पुगेपछिका वृत्तान्त समेटिएको छ । यसलाई आत्मकथाभन्दा संस्मरण भन्नु युक्तिसंगत होला ।

वास्तवमा यो पुस्तक केवल आत्मदैनिकी वा संस्मरण होइन, यो एउटा सजीव दस्ताबेज र साहित्यिक अभिलेख पनि हो । यो एक लेखकको, विशेषतः प्रवासी जीवन बिताइरहेको लेखकको, आत्म-खोज, पीडा, कामुकता र सृजनात्मक प्रयत्नको दस्ताबेज हो । जुन हाम्रो समसामयिक समय र लन्डन आसपास एवं हार्लोंको बहु सांस्कृतिक समाजसँग पनि संवाद गर्छ ।

* * * *

विषयवस्तु

आत्मपहिचान र आत्मसंघर्ष

लेखक सापकोटा निरन्तर आफूलाई बुझ्ने प्रयासमा छन् । उनी आफू बसेको नयाँ दुनियाँलाई उजागर गर्ने प्रयत्नमा त्यहाँको समाजको लक्ष्य, डर, प्रेम, रमाइलो र असुरक्षासँग जुधिरहेका हुन्छन् । ‘म को हुँ ?’, ‘किन लेखिरहेको छु ?’, ‘जीवन के हो ?’, ‘यो नयाँ संसारको असलियत के हो ?’ भन्ने प्रश्नहरू बारम्बार देखा पर्छन् । चेतन मनका दृश्य र अवचेतन मनका मान्यताहरूले उनले आत्म पहिचान खोजिरहेको भान पर्छ । अजीवको ड्यानी, बेलायती समाजमा दाहसंस्कारको खर्चिलो व्यवस्थापन र व्यवसायीकरण, अफ्रिकी ओटिसको कहानी र डिमेन्सियाले पीडित जोनको नियति जस्ता प्रसङ्गहरूले आत्म पहिचान र आत्मसंघर्षको खोजमा नयाँ प्रकाश छरेका छन् ।

– सम्बन्ध र लैङ्गिक भूमिकाहरू

उनको लेखनमा प्रेम प्रसङ्गहरू, डेटिङका परिदृश्यहरू, दाम्पत्य जीवनमा भोगेका संघर्षहरू, महिला र पुरुष बीचको कामुकता तथा इतर सम्बन्धहरूले प्रमुखता पाएका छन् । उनी साथीभाइका सम्बन्धहरूबारे गहिराइमा अभिरुचि राख्छन्, र पठनीय रूपमा पस्कन्छन् । सिङ्गल मम लोरी, अब्सेस्ड मोनिकाको लोग्नेको खोजी र विवाहको चरणसम्म नपुगेका सम्बन्धहरू, मार्टिनासँग खाँचोको साइनो, तीन ब्वाइफ्रेन्डसँगबाट तीन बच्चा भएकी लिन्डा, मारियाको आसक्ति, पालोमा र रेनाको समलिङ्गी सम्बन्ध सबै वृत्तान्तले बेलायती संसारका प्रेमको गहिरो चित्रण गर्दछन् ।

– सांस्कृतिक पहिचान र अन्वेषण

लेखक नेपाली र बेलायती संस्कृतिको संयुक्त अन्वेषणमा लागेका छन् । उनी बेलायती प्रेम-कथा मात्र भन्दैनन्, उनले पाठकलाई पनि आफ्नै सम्बन्ध र जरा सम्झन बाध्य पार्छन् । आफूभित्रको सांस्कृतिक पहिचान खोजिरहेका छन् । बहुसंस्कृतिको ठक्करमा मानवताको भावनात्मक लहरलाई शक्तिशाली रूपमा प्रस्तुत गरेका छन् । जसले पाठकलाई सांस्कृतिक अनुभव पनि गराउँछन् ।

* * * *

शैली विश्लेषण

– आत्मनिरीक्षणात्मक

लेखक सापकोटाको शैली गहिरो आत्मनिरीक्षणले भरिएको छ । उनले बाह्य घटनाहरूको वर्णन मात्र गर्दैनन् भित्रको भावनात्मक स्थिति प्रकट गर्न समेत रुचि देखाएका छन् । उनको यो शैलीले उनको बेलायती अस्तित्वको खोजलाई प्रभावकारी बनाएको छ ।

– वास्तविक दुनियाँको पृष्ठभूमिमा कल्पनाशीलता

यद्यपि यो अनुभव र अवलोकनहरूको सँगालो हो, तर कल्पनाशील भावनाले भरिपूर्ण छ । दृश्य र भावना वर्णनमा उनले बारम्बार प्रतीकात्मकता, बिम्ब र लयात्मक शब्दहरू समेत प्रयोग गरेका छन् । एकातर्फ बेलायतको वास्तविक जीवनको सजीव प्रस्तुति छ, अर्कोतर्फ उनी नेपाललाई विकसित मुलुकमा पदोन्नति भएको पनि देख्न चाहन्छन् ।

– सरल तर गहिरो संरचना

पुस्तकका विषयवस्तुका प्रस्तुति स्पष्ट छन् । लेखकको भाषा अत्यन्त सरल र सलल बगेको छ, तर उनी परम्परागत ढङ्गले प्रारम्भ-मध्य-अन्त शैलीमा लेख्दैनन् । बरु भावनाको बहाव अनुसार अगाडि बढ्छन् । कतै लयात्मक जस्तै, कतै कथा जस्तै, लाग्ने टुक्राहरू मिलाएर उनले आफ्नो अवलोकनलाई सिलसिलेवार रूपमा प्रस्तुत गर्छन्, व्यक्तित्वको जटिलता उजागर गर्छन् ।

* * * *

निष्कर्ष

‘लन्डन अनप्लग्ड’ केवल एउटा लेखकको आत्मदैनिकी होइन, यो एक डायस्पोरिक जीवन बिताइरहेको लेखकको आत्माको गहिरो अवलोकनको दस्ताबेज हो । जसले जीवनको पीडा, सौन्दर्य, स्वप्न र विखण्डन सबैलाई समेट्छ ।

तर, बेलायती कुरकरे बैंसका प्रेमिल कथाहरूको वर्चस्व भएकाले यस्ता विषयवस्तुमा रुचि नहुनेहरूका निम्ति यो पुस्तक त्यति चखिलो नहुन सक्छ । ‘जे कुरामा पनि उज्यालो देख्ने’ लेखकले लन्डन र हार्लोंमा उन्मुक्त मायाका मामिलाहरू ज्याद्री देखेका छन् ।

यो पुस्तक प्रवासी साहित्यमा चासो राख्ने, विकसित युरोपेली देशको जनजीवनबारे अभिरुचि हुने, वा पश्चिमाहरूको जीवन पद्धतिबारे बिना फिल्टर बुझ्न चाहने सबैका लागि अत्यन्त महत्त्वपूर्ण र सजीव स्रोत हो । सापकोटाको लेखन शैली, उनको आत्मचिन्तन, र भावनात्मक इमानदारी पाठकलाई च्वास्स छुने किसिमको छ ।

हाल बेल्जियम