“छवि हाम्रो कार्यकर्ता हो !” भन्दै एक हुलले एक तिर बाट ताने ।

अर्को हुलले “हाम्रो सक्रिय सदस्य हो” भन्दै अर्को तिरबाट ताने ।

दुवै समूहले आ-आफ्नू पार्टीको झन्डा ओढाउन तछाड मछाड गरे । चर्का-चर्कीका बिच हात हाला हालको स्थिति सृजना भयो । कसैको लुगा फाट्यो, चप्पल फुस्कियो, घडी हरायो, महिलाहरूले कपाल तानातान गरे, उनीहरूको पोते चुँडियो । केही क्षणमा नै श्रद्धाञ्जली सभा रणभूमिमा परिणत भयो । आजीवन देश, जनता र शान्तिको लागि समर्पित गरेर स्वच्छ छवि बनाएकै कारण, उसले वास्तविक नाम जे भए पनि “छवि” नामले देश विदेशमा प्रसिद्धि कमाएको थियो ।

प्रहरी प्रशासन मूकदर्शक देखिन्थे । टल्किने ज्याकेट लगाएका पत्रकारहरू फोटा र भिडियो खिच्नमा व्यस्त थिए। यो दृश्य हेर्दा यस्तो लाग्थ्यो, छविको योगदानको कदर हैन, उपहास भइरहेको छ ।

त्यत्तिकैमा “बचाउ बचाउ !” भन्ने आवाज आयो । त्यो आवाज छविको नाबालक छोराको रहेछ । उसलाई घाइते अवस्थामा भिडबाट निकालियो । सबैको ध्यान ऊ तिर केन्द्रित भयो ।

उसले फुत्त गोजीबाट एउटा कागज निकाल्यो र छेउको मान्छेलाई पढ्न दियो ।

कागजमा लेखिएको थियो “अन्तिम इच्छा: मेरो मृत्यु भएमा मलाई राष्ट्रिय झन्डा ओडाइदिनू ।”