वञ्जीस ईराले द्रुत गतिमा कुदाइरहेको ट्रकको गति बिस्तारै कम गर्‍यो । र, सडकको किनारामा ल्याएर रोक्यो । ऊ ट्रकबाट फुत्त ओर्लेर सरासर भान्छाघरतिर छिर्‍यो ।

भान्छाघरको कुनाको एउटा टेबलमा म गजक्क परेर खाना खाइरहेको थिएँ । गजक्क पल्टिनुको कारण केहीबेर अघिको संवाद थियो ।

‍भान्छाघरभित्र छिर्नासाथ साहुनीले मलाई सोधिन्– “सर, खानामा आज के लिनुहुन्छ ? अण्डा ?”

सधैँजसो अण्डा मात्र खाइरहने मैले तुरुन्तै भनें– “कति अण्डा मात्रै खानु ? आज अण्डा बनाउने ल्याउनुस् ।”

सो कुरा तीन पटकसम्म दोहोर्‍याएर भनेपछि मात्र बल्ल ती सोझी साहुनीले कुरो बुझिन् र बटुकामा कुखुराको मासु हाल्न थालिन् ।

त्यतिबेलै साहुजी आएर फेरि मलाई सोधे– “सर, के लिनुहुन्छ ?”

मैले साहुनीलाई भनेकै कुरा दोहोर्‍याएँ– “कति अण्डा मात्रै खानु ? आज अण्डा बनाउने ल्याउनुस् ।”

मैले सोचेको थिएँ– “साहुजी अलि बाठा छन् । उनले एकै पटकमा कुरा बुझ्छन् ।”

तर भइदियो उल्टो । उनले हतार हतार साहुनीलाई बटुकोमा हालिसकेको मासु भाँडामा खन्याउन लगाएर भने– “सरको लागि अण्डा बनाइदेऊ ।”

मैले फेरि– “अण्डा होइन । अण्डा बनाउने चाहिँ दिनुस् न भनेको ।” भनेपछि बल्ल साहुजीले कुरो बुझे र साहुनीलाई भने– “सरले कुखुराको मासु भन्नुभएको रहेछ । अण्डा होइन । सरलाई मासु नै ल्याइदेऊ ।”

वञ्जीस ईरा ट्युबेलमा हात धोएर आइसकेको थियो । ऊ चप्पल बजार्दै आयो र अर्को कुनाको टेबलमा बस्यो । भान्छाघरमा काम गर्ने – झट्ट हेर्दा ह्यारी पोटरको बेलेट्रिक्स लेस्ट्रेन्जजस्तै देखिने – महिलाले वञ्जीस ईरालाई सोधिन्– “दाइ, खानामा के लिनुहुन्छ ? खसी कि कुखुरा ?”

वञ्जीस ईराले गम्भीर भएर भन्यो– “कति सधैँ खसी कि कुखुरा भन्छ्यौ ? बाघको मासु छ ? आज त्यो लेऊ ।”

“अण्डा होइन । आज अण्डा बनाउने ल्याउनु न ।” भनेर साहुजी र साहुनीलाई बडो अलमलमा पारें भनेर गजक्क पल्टेर खाना खाँदै गरेको म वञ्जीस ईराको डिमान्ड सुनेर खिस्स मुस्कुराएँ ।

अब गजक्क पल्टिने पालो वञ्जीस ईराको थियो ।

वञ्जीस ईराले खाना खाइसकुन्जेलसम्म पनि बेलेट्रिक्स लेस्ट्रेन्जले कुनै जादु गरेर बाघको मासु ल्याउन सकिन ।

अब खिस्स पर्ने पालो वञ्जीस ईराको थियो ।

खासमा बेलेट्रिक्स लेस्ट्रेन्जलाई कुनै पनि प्रकारको जादुसँग मतलब थिएन । वञ्जीस ईरा र उसको डिमान्डभन्दा पनि बढ्तै शानका साथ ऊ अन्य ग्राहकहरूलाई भोक सर्भ गर्नमा व्यस्त थिई ।