धनराज गिरी

धनराज गिरी

 

कविता नै लेख्ने हो भने
संसार उज्यालो हुने कविता लेख
कोही पनि नरुने
अवस्था सिर्जना गराउने कविता लेख
सक्छौ ?
अयुद्ध हुने कविता लेख
अकविता नै सही
झुपडीमा मुस्कान फुलाउने कविता लेख
आजसम्म लेखिएको कविताले
कसैलाई न्याय दियो?
पन्त छोरीको जीवन फर्कियो?
नारीहरूले फुक्काफाल भएर
मुक्त आकाशको आजाद पक्षी भएर
विचरण गर्न पाउने माहौल बन्यो?
किन विवश छन् राधिका कल्पितहरू
मुखमा शिस्न फलाउने कविता लेख्न?
किन विवश छन् सीमा आभासहरू
आगो ओकल्न?
यस्तो कविता लेख मेरा आजका कवि हो
कि फेरि अर्को आन्दोलन कविता लेख्न नपरोस् !
सक्छौ कवि हो?
म त कवि नै होइन
अकवि पनि होइन
यसैले म सक्दिनँ
कमसेकम हरेक घरमा चुल्हो बल्ने कविता आए पो
के हुन्छ छन्द मिलेर
जिन्दगी नै बेछन्दको छ भने!
के हुन्छ ताली पाएर?
मानवताले नै गाली पाउने युगमा!
सक्छौ कवि?
हरेक सत्तामा बुद्धको हैकम चल्ने कविता लेख
गीत लेख,गजल लेख!
आदर्श होइन,यथार्थ लेख!
मान्छेलाई फगत् मान्छे बनाउने कविता लेख!
सताउने र तताउने होइन
जिन्दगीको अर्थ बताउने कविता लेख
सक्छौ कवि?
रमिता होइन,कविता लेख!!
दास हुने होइन
बिन्दास हुने कविता लेख
शब्द शब्दमा सविता लेख!
हार्दिक अपिल !!

धनराज गिरी