वादी धेर भए यहाँ मुलुकमा ‘नेपालवादी’ जिरो
तारे चार दलाल लाल हुन गो हे साम्यवादी हिरो ।।
बेकामे अभिशाप सांसद भए सत्ता गयो भीरमा
वादी मात्र रमाउने चलन भो भत्ता बुझी खीरमा ।।
नारा मात्र कुरा भुरा कपि बने सिद्धान्तको अन्त भो
गाली रीत भयो सराप सुनियो झुक्याउने सन्त भो ।।
लीला फेसबुके कमाल अहिले ‘पर्दैन त्यो’ गीत भो
सानो भूल गरे विशाल लफडा नेपालमा रीत भो ।।
जन्मे धेर कुबेर गज्जब भयो फाप्यो भिना शीर्षमा
नातेदार बने विलाप सकियो श्रीविष्णु आफ्नै रमा ।।
जोगी कान उखान सत्य रमिता पारा सबैको उही
हो गन्तव्य सदा चलाख मनुको सत्ता र पैसा दुई ।।
जे जे आज गरे हिजो पनि उही संस्कार हो जानियो
स्थायी रीत यही बुझे मनुजले स्वार्थी सबै मानियो ।।
होला यो वरदान आश गरियो दाता विधाता भनी
आगोमा कुदियो शहीद नर भो बाठो बनाई धनी ।।
बाजा ताल बुझी युवा गगनमा टाढा उडे जेटमा
बाआमा घरमा यता सहरमा सन्तान आखेटमा
रित्तो वास भयो पितामह रुने आमा वियोगी बनी
तोते बोल सुनिन्न आज घरमा ‘हब्बा, म आएँ भनी’ ।
– चितवन
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।