
” ए बूढा, दुनियाँसित अनेक कुरामा गफ हुन्छ, जति बोले पनि नथाक्ने ! मसित पाँच मिनेट बोलेको पनि थाहा छैन। हेप्ने ?” प्रोफेसर साहेबनी आज कस्सिएर आइन् ।
प्रोफेसर हिम्मतराज आनन्दको लागि यो कुरा नौलो थिएन। उसले गफ गर्न नचाहेको होइन, तर के विषयमा ? निरक्षर विदुषी, विवेकी, कल्याणी खुसीको कुरा अति अर्थपूर्ण र गहिरो हुन्छन् । किताबसित नाता नभए पनि उनले जिन्दगी नामको विश्वविद्यालयबाट विद्यावारिधि तेब्बर गरेकी छिन्।”बूढा, यो मान्छे गतिलो लागेन है!” उनको परख खेर गएको छैन। हेर्दा सोझी, तर भित्री चलाख,आफ्नो लागि !
” प्यारी, ल आज गफ गर्ने, आऊ, तर कसैको पनि निन्दा गरिने छैन। सुन, यी आत्महत्याहरू किन यति धेरै बढेका होलान् ? तिम्रो राय के छ? ”
“म लाटीले के मेसो पाउने र ? तर मेरो मनले भन्छ केही धान्न नसक्ने काम गरे, अनि मरे !” सामान्य भएर बोलिन् ।
“अल्लारे उमेरमा परीक्षामा फेल भएर ज्यान फाल्ने कुरा अलग हो, तर पाको उमेरकाले पनि अकाल जाने निर्णय गर्छ भने ‘कि यो, कि त्यो’ हुने रहेछ कारण ।” कस्तो साहित्य बोल्नुहुन्छ ? मैले बुझ्ने गरी भन्न हुन्न ? के हो यो, ‘कि यो, कि त्यो’भनेको ?”
“प्यारी, तीन आत्महत्यामा कारण देखियो ‘अर्थशास्त्र’ र पाँचमा ‘कोकशास्त्र !’ हेर डार्लिङ,अति ठुलो ठुलो सपना देख्नेले कार, महल, सफलता, हाई फाई लाइफको कल्पना गर्छ र जोखिम मोल्छ, सबै देवकोटा लक्ष्मीप्रसाद हुने होइनन् । सबै लोहनी, श्रीधर गुरुजस्तो हुने होइनन् । अति असफलताले घोर निराशा दिन्छ। अनि अन्तिम उपाय, मुक्ति ! यो भयो दामको कारण, ‘कि यो !’ भनेको यही हो, पैसाले ज्यान जोगाउने काम पनि गर्छ र ताल नमिले ज्यान लिन्छ पनि। इज्जतदार बनाउने पनि दाम, बदनाम गराउने पनि दाम, सम्बन्ध बनाउने पनि दाम, सम्बन्ध खराब बनाउने पनि दाम, अनि नि, यो दुनियाँ हो, ‘कि त्यो !’ भनेको दामिनी, विविध कारणले भाले र पोथी आफ्नो भान्सामा नरमाउने ! यो फेसबुक सजिलो ! दुई मिनेटमा मुनामदन बन्ने, सूर्यकुन्ती बन्ने! ‘दामिनी’ खतरनाक एम्बुस, सन्तुलन कायम भए त केही नहोला, तर यहाँ पनि गडबड हुन सक्छ। ब्ल्याकमेलिङ् हुन सक्छ।पक्कै पनि पुरुष बढी खराब हुन्छ, पक्कै हुन्छ, भालेलाई हतार हुन्छ। तर पोथीहरू पनि अति खतरनाक, यही भएर । ‘कि यो, कि त्यो’ चाहेर पनि जोगिन गाह्रो हुन्छ। कुरा बुझियो नि ?कि दाम, कि दामिनी ! स्वाहा..!”
“हजुर पनि होसियार है बूढा !” काखमा आएर मासुम बनेर बोलिन्।
“मेरो युग सकियो प्यारी ! अब जे हुन्छ उपर उपर हुन्छ, उपरदाङ गढीमा हुन्छ, शक्ति खोरतिर गइन्न। ममाथि पनि सन्देह ?”
“होइन, होइन, हजुरमाथि होइन, यी पुतलीहरू झुम्मिएको देखेर तर्सिने नि ! अब त बुहारीले सातो लिने नि..! ”
“हो त, बघिनी !” रातको दश, कुराकानी सकियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

