“यी साहित्यिक पुरस्कारहरू निष्पक्ष हुन्छन् ?” एक युवा कवि बोल्यो, पूर्व छापामार।

“यो देशमा के के कहाँ कहाँ कैले कैले निष्पक्ष भएको छ र यो हुनुपर्यो !?” अलि डेब्रो डेब्रो कुरा गर्ने एक राजनीति पीडित युवा, विमल ।

यतिखेर सम्पूर्ण किताब, लेखरामनगरमा केही साहित्यप्रेमीहरू जम्मा भएका छन् । शनिबार हो ।

“चुनाव निष्पक्ष हुन्छ हाम्रै पक्षमा हुन्छ !” महचोके कान्छा रघुवीर।

“यी पुरस्कारहरूको बारेमा टाउको दुखाउने होइन के ! पुरस्कार जसलाई दिए पनि हुन्छ । पुरस्कार एक इत्तेफाक हो । चिठ्ठा !!” खेम पहारी, एक सर्जक, लघुकथाको ।

“यो इत्तेफाक भनेको के हो ?” लक्ष्मी बराल, एक नारी समालोचक ।

“सन्जोग ।”, अविरल यात्री, खाडी रिटर्न, नेपाली अमिताभ बच्चन, मध्यावधि चुनावबाट फर्किएको उम्मेदवार !

“म एउटा कुरा बुझ्दिनँ, पुरस्कार र सम्मान दिनेले दियो, पाउनेले पायो, यो विरोधको तुक के ? किन गरिन्छ विरोध ?” ग्रन्थराम आशीर्वाद, लक्ष्मीनारायण मन्दिरको पुजारी ।

“यो देशमा मौलाएको नै विरोध हो, जेमा पनि । निन्दा उद्योगमा हामी आत्मनिर्भर !”, कैलाश पदमपुरे ।

“यार कैलाश, यू आर राइट, यो देशमा अयोग्यहरूले योग्यलाई काम गर्न नदिने क्या ! अब भन न, सालमा पाँच दश गतिला किताबहरू छापिने हुन् , जसलाई दिए पनि हुन्छ पुरस्कार ! के तुलना हुन्छ सिर्जनाको ? ल भनौँ, रामबाबु घिमिरे, गोविन्दराज विनोदी र बूँद रानाको बिचमा एक छान्नुपर्यो, को सर्वोत्तम ?हुन्छ तुलना ?”, बैकुण्ठनारायण मदननगरे।

—–

पुरस्कार सौन्दर्य मीमांसा चलिरहेको छ । तर्कमाथि तर्क । अलि पर एक पात्र छ, कुरा सुनिरहेको छ । तर ध्यान नदिएजस्तो गरेर । अचानक नदीन कालीपारेको नजर त्यो पात्रमाथि पर्यो ।

“अरे, हाम्रा राम्रा दाइ यता पो, कतिखेर आउनुभएको ? किन नबोलेको ? हजुरको राय अझ गहकिलो हुन्छ । ईश्वरको कृपाले हजुरजस्तो पवित्र मान्छे यो जिल्लाले पाएको छ । दाजी, मैदारो हुनुपर्यो, यो इशूको, हजुरबाट, उखुम भो हामीलाई ! यो अराजक समयको एक कुरूप गजल सुनाएर हामीलाई मनोरञ्जन दिनुपर्यो । कता लुकेको यस्तो रमाइलो मान्छे ! मेरो हिरो नम्बर वोन !”

पुलुक्क हेर्यो त्यो पात्रले । सबैको ध्यान ऊतिर ।

“सर, पुरस्कारको विरोध किन हुन्छ ?”, खेम पहारी ।

“अङ्गूर अमीलो छ !”, यति भनेर त्यो पात्र रु. ९००० को किताब किनेर बाटो लाग्यो ।