“पिताश्री,सापेक्षवाद भनेको के हो ?” हुर्किएको छोरोले आफ्नो जन्मदाता लेखक एवं प्रोफ़ेसर “भाष्करराज़ विनोदी”सित यस्तो प्रश्न गर्‍यो।
लघुकथा लेख्न व्यस्त विनोदी मौन रह्यो। एक घन्टापछि विनोदीको घरमा एक ‘जय नेपाल मित्र’ आयो। आधा घन्टा गफ भयो। पुत्रले पनि ध्यान दिएर सुन्यो। विनोदीले २००७ सालदेखि २०७७ सालसम्मको ‘जय नेपालपुरम’को उज्यालो पक्ष मात्र हाइलाइट गर्‍यो।
मित्र ख़ुशी भएर गयो। पहिलो मित्र गएको आधा घन्टापछि “लालबहादुर भोलाराम” आयो। “एक दिन यो संसार कोरोनामय भएजस्तै मार्क्समय हुन्छ- साम्यवाद अपरिहार्य” यो निचोड़को गफ भयो | भोलाराम पनि अति प्रफुल्ल भएर गयो। फेरि दुई घन्टापछि “महेंद्र गिरी कोपिला” आयो। विष्णुको भजन गायो। “यो देशको भलो गर्ने शक्ति पृथ्वीनारायण शाहको ‘जीन’मा मात्र छ- यी कुनै पनि…..सक्ने कुरा असम्भव…राजा…आजा…” भनी मीठो खाजा खाएर कोपिला पनि लाग्यो पूर्व | – बाउको पारा देखेर छोरो मुर्मुरियो। बाउ कड़ा हो। सानोमा खाएको थप्पड़ सम्झियो। “कड़ा मास्टर” नाम कमाएको– विद्यार्थी पिटेर। मसिनो स्वरमा आफ्नो विमति प्रकट गर्‍यो, “हजूर जस्तो मान्छेले के गरेको पिताश्री ? यस्तो दहीचिउरे ? पीपलपाते ? किन बा ? हामीलाई के पुगेको छैन र यस्तो दोगला चरित्र ?”
मुसुक्क मुस्कुरायो विनोदी।
“छोरा, मैले तेरो प्रश्नको उत्तर ‘सोदाहरण’ दिएको हूँ– यही हो सापेक्षवाद– कुराले मान्छेको मन किन दुखाउने ? किन बढ़ी जान्ने हुने ? कला हो कला –जिन्दगी एक कला हो –हामी कलाकार !!” “उसो भए ‘पाखण्ड’ के हो त ?” छोराले अर्को प्रश्न सोध्यो।
“भोलि मसित एउटा प्रवचन सुन्न जाने ….साँझ क्लियर !”
“नारीको उत्थान –समयको माग” शीर्षकमा एक नेता भाषण –धारा प्रवाह ….सुने बाउछोराले। “अब्बल” नेताको प्रवचन। नेताजी विनोदीको साथी। साँझ बाउछोरा नेताको घर पुगे। नेताजी पत्नीलाई जथाभावी गाली गरिरहेको थियो। पत्नी निरीह- आँखा फेवा रारा। घर फर्किए, बाउछोरा।
“पिताश्री, क्लियर। हजूर किन सर्वप्रिय गुरु हुनु भो भनेको त आज पो थाहा पाएँ।”