केही दिनका पाहुना थिए । केही रमाइलो गरे। आखिर बिग्रेको घडीले पनि चौबीस घन्टामा दुई पटक सही समय दिन्छ नै। यही सम्झिएर यी पाहुनाहरू “आइतहाले” भनेर प्रोफेसर जगमोहन आजादले “होम स्टे”को धर्म निर्वाह गर्यो । कुरा त केही पाहुनाले जहिले पनि बटारिएको मात्र गर्ने । कृतघ्न । सह्यो आजादले ।

“हजुर सहन सक्नुहुन्छ” पत्नी सद्भावनादेवी इमानीको परख । “म नीलकण्ठ नि पियारी !” समुस्कान उत्तर ।

“हामी जाने !” केही पाहुनाको सामूहिक स्वर । उनीहरू थिए, दम्भलाल घुच्चुक, स्वार्थमान हुर्मत, लोभलाल बज्र, अहङ्कारलाल कुटिल, जरासन्ध पाखण्डी, दुर्योधन ढोंगी र खुराफत आडम्बरी ।

प्रोफेसरले सबैको अनुहार अवलोकन गर्यो । न मनमा शान्ति न मुहारमा कान्ति, हारेका जुवाडेजस्ता, उदास उदास । अरू पनि थिए ।

“तिमीहरूको पनि जाने इच्छा हो ?”, प्रोफेसरले सोध्यो।

“सर, हजुरलाई छोडेर जान म जन्मिएको होइन !”, इमान बोल्यो ।

“म पनि इमानपथगामी ! हजुरको गजल नसुने निद्रा नै लाग्दैन ।”, विवेक बोल्यो।

“म पनि जान्नँ। यी भस्मासुरहरू जाऊन् !”, करुणा बोलिन्।

“म पनि जान्नँ !” सरलता बोल्यो ।

“मेरो त स्थायी घर नै हजुरको मन र तन हो ।”, सज्जनता बोल्यो ।

“जलन र दुराग्रह अनि प्रतिशोध पनि गए हुन्छ । म त जान्नँ ।”, सादगी बोल्यो ।

“ह्या बूढा, जानेलाई रोक्ने होइन । जान दिनुपर्छ । यिनीहरूको कारणले हामीलाई आजसम्म लाभ के भयो ? हजुर अलि सोझो भएर हो ।”, पत्नीको राय ।

“लौ त, प्यारा आफन्तहरू अल बिदा !”

गए “हामी जाने” भन्नेहरू । त्यो दिनपछि प्रोफेसरको घरमा उज्यालो नै उज्यालो भयो, एक पवित्र मन्दिर भयो घर । प्रोफेसर दोब्बर आजाद र स्वस्थ भयो, तनले र मनले पनि ।

“हैट, रोगहरू पो गएछन् !”, उसको मनमा कुरा खेल्यो।