एकासी पर जा खुरुक्क घर जा आई बयासी शशी
तेरो काम गयो भयो सहजता साहित्य लेख्ने बसी
के के के रविको अनन्त छविको घण्टी बजी रन्कियो
ओली माधव शेर राम गरिमा आगो यता दन्कियो!
पात्रो एक नयाँ हुनेछ कविता आख्यान बन्ला भरे
के होला उपकार सार गतिलो गोविन्दजी जन्तरे!
वाग्देवी गुरुमा पुगे सडकमा आचार्य बेहालमा!
शिक्षाको उपहास खास अमिलो सन्ताप नेपालमा!
आस्थादासहरू कुदे शहरमा नीलो न रातो भयो
राजाको दरबार हार अघिको सातो सबैको गयो
हेरी वाद विवाद रङ्ग ननिको सिद्धान्त नाराहरू
देखी जाल अनेक झेल कविजी सोझा रिसाए अरू!
सत्ता मात बढेछ आज घरमा आफन्त तान्ने बढी
नातावाद अनन्त लाज गुरुजी जानिन्छ सारा पढी
मेधावी अवतार दूर वनमा कब्जा गरे झूरले
जाने अब्बल झारपात बटुली चप्काउने क्रूरले!
आए साल नयाँ हुने सब उही हामी उही तालका
फेर्ने चाल कमाल हुन्छ बुझियो आत्मीय नेपालका
मेरो काम उही दुई सफरमा लेख्ने र बोल्ने बढी
कारोबार गरी सरी शहरमा आयो सुनौलो घडी!



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









