साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई विमल भौकाजीद्वारा सम्पादन गरिएको लघुकथासंग्रह “छचल्का” प्राप्त भएकाे छ ।
प्रस्तुत लघुकथासंग्रहमा ९९ जना लघुकथाकारका ९९ थान लघुकथा समेटिएका छन् । आकारका हिसाबमा संग्रहभित्रका लघुकथाहरू कुनै छोटा र कुनै अलिक लामा पनि छन् । तर प्रायः लघुकथाहरूको विषयवस्तु प्रभावकारी छन् । शृङ्खलाबद्ध कथानकमा भाव तथा उद्देश्य स्पष्ट रहेको भेटिन्छ । साथै जीवन्त सन्देशको प्रवाहले लघुकथाहरू जीवन्त छन् । कतिपय लघुकथाहरू भने पाठकका मनमा लामो समयसम्म अनौठो तरङ्ग सिर्जना गरिरहने खालका छन् ।
सम्पादकीयमा विमल भौकाजी लेख्छन्, “लेखन-कर्म जीवनको अभिन्न अङ्ग हो । तर, लेख्दा कसरी कुन परिस्थितिमा लेख्यो भन्नुभन्दा पनि किन लेख्यो भनिनु महत्त्वपूर्ण कुरो हो । अझ त्योभन्दा पनि ‘के लेख्यो ?’ भनिनुचाहिँ सर्वथा महत्त्वको विषय हो । आज नेपाली साहित्य लेखनको दृष्टिकोणले निकै फस्टाएको देखिन्छ । मूलतः साहित्यिक क्षेत्रमा कलमहरू अत्यधिक मात्रामा चलेका पाइन्छन् ।” सम्पादकीयमा विमल भौकाजी लेख्छन्, “कुन -कस्ता खालका साहित्यलाई पाठकले मन पराउँछन् ? यो, पाठककै व्यक्तिगत रुचिमा भर पर्छ । र, त्यस्तो रुचिलाई ध्यानमा राखेर, तर खास गरेर समयको व्यस्तताको हिसाबले पनि लेखकहरू स्वयम् छोटा लेखनको बाटोमा लागिपरेको तथ्य सार्वजनिक हुने गरेको छ । यसक्रममा ‘लघुकथा-लेखनको गतिले तीव्रता पाएको देखिन्छ । सामान्यतया: प्रश्न उठ्ने गरेको छ- लघुकथा के हो ? लघुकथाको तात्विक अर्थ के हो ? लघुकथा भनिनुलाई वा हुनुलाई त्यसभित्र कुन-तत्त्व अन्तरनिहित हुनुपर्दछ ? यी प्रश्नको जवाफमा विद्वान् समालोचक, साहित्यकार र स्वयम् लघुकथाकारहरूले विभिन्न प्रकारका मत दिएका छन् । हामी भने समष्टिगत रूपमा यत्ति भन्छौं- हामी उभिएको यही धरातलको परिवेशभित्र रहेर मान्छेको जीवनसँग सम्बन्धित जुनसुकै कोणमा केही लेखिन्छ भने, तर सशर्त त्यो लेखनीमा कथानक हुनै पर्छ र संरचनाको दृष्टिकोले त्यो पट्ट्यारलाग्दो हुनु हुँदैन- त्यो लघुकथा हो ।”
२ सय ४ पृष्ठमा बुनिएको यस संग्रहलाई भुँडी पुराणले बजारमा ल्याएको हो र यसको मूल्य ३ सय ९० रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 










