साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

यौनकथा- कठपुतली

विमल भौकाजी
ratna book ads

क्याबिनमा छु म, जस्तो कि प्रत्येक दिन म क्याबिनमै हुन्छु । मविना क्याबिनको कुनै अर्थ छैन । म छु र त क्याबिन छ, अथवा क्याबिन छ र त म छु । अर्थात् क्याबिन र म एकआपसमा परिपूरक छौँ ।

जब साँझ ढल्छ, यसरी नै क्याबिनको अर्थ खुल्दै जान्छ, जसरी हिजो साँझ, अस्ति साँझ… र त्यस्तै–त्यस्तै यो साँझ ।
सधैँको झैँ अभ्यस्त यो साँझका लागि म र मेरो उपस्थितिको यो क्याबिन । …क्याबिनमा प्रवेश गर्छन् पात्रहरू ।

– पहिलो पात्र, एक प्रख्यात उद्योगपति
– दोस्रो पात्र, एक महान् राजनीतिज्ञ
– तेस्रो पात्र, एक चल्तापुर्जा पत्रकार
– चौथो पात्र, एक चर्चित कवि ।
मधुरो प्रकाशबिच क्याबिनको एउटा राउन्ड टेबलका वरिपरि बस्छन् मेचमा सबै पात्रहरू । तत्काल मेरो भूमिका सुरु हुन्छ त्यो राउन्ड टेबलका सामु ।

‘सन्चै छौ ?’ पत्रकारको आवाजमा मप्रति सबैको सामूहिक स्वर गुन्जन्छ, मायालु प्रकारको ।
मुसक्क हाँस्छु म । उनीहरू बुझ्छन् मेरो मुस्कानयुक्त जबाफ ।
‘आज के खुवाउँछौ ?’ मलाई नै खाउँलाझैँ मानौँ कुनै आदेशको प्रतीक्षा गर्दै राजनीतिज्ञ बोल्छन् ।

‘के खान हुछ ?’ उनीहरू सबैलाई हेर्दै प्रतिप्रश्न गर्छु म ।
राजनीतिज्ञ टेबलमाथि रहेको मेनुमा आँखा लगाउँदै खाने कुराको नाम भन्न लाग्छ । म कागजमा टिप्दै जान्छु र लेखिसकेर जान खोज्छु ।

‘बिस्तारै ल्याए हन्छ, पख न !’ मेरो हात ट्याप्प समात्दै उद्योगपति बोल्छन् । मेरो शरीरमा एउटा अनौठो तरङ्ग दौडन्छ,… म अलिकति काँप्छु ।

यतिन्जेल काल्पनिक दुनियाँमा दौडिरहेका कविजी अनायास यथार्थको धरातलमा आइपुग्छन् र उद्योगपतिको हातबाट मलाई फुत्काउन खोज्दै उनी भन्छन्– ‘अरे, किन कामेकी तिमी?’

‘यस्तो मौसम छ, जाडो लाग्दैन कि क्याहो आफूलाई ?’ म वास्तविकता लुकाउँदै भन्छु ।

उद्योगपति आफूले लगाइराखेको छालाको ज्याकेट खोल्न खोज्छ र मतिर टाँसिदै भन्छ– ‘कहाँ छ जाडो खोइ ?यति साह्रो गर्मी भइराखेको छ मलाई त…।’ साँच्चिकै ऊ निधार पुस्छ, मानौँ निधारबाट पसिना बगिरहेछ ।

‘म खाना अर्डर गरेर आऊँ है !’ त्यहाँबाट उम्किने अवसर खोज्दै म जुरुक्कै उठ्छु ।

राजनीतिज्ञ मलाई आदेशात्मक आवाजमा भन्छन्– ‘पहिले त्यो ह्विस्की चाहिँ ल्याइहाल न !’
म उनलाई पुलुक्क हेर्दै हिँड्छु, सायद मेरो हेराइमा कुनै किसिमको नखरा देख्छन् उनी । झन्डै–झन्डै उत्तेजित भएर म भएकै ठाउँमा उभिन आइपुग्छन् उनी । म उनको ख्यालै नगरी अघि लाग्छु ।

र एकै क्षणपछि सजिएको किस्तीमा एउटा ठूलो बोतल ह्विस्की र चारवटा रित्तागिलासहरू लिएर म फर्कँदा चारै जनाती पात्रहरू प्रतीक्षारत देख्छु ।

बोतल खोल्छु म र क्रमशः गिलासहरूमा थोरै–थोरै ह्विस्की खन्याउँछु । तत्पश्चात् टेबलमै रहेका थर्मसबाट उनीहरूको आवश्यकताअनुसार तातो पानी मिसाउँदै जान्छु ।

उनीहरू पिउन लाग्छन् । म मुस्कराएर त्यहीँ उभिइरहन्छु । उनीहरू मेरो मुस्कानलाई ह्विस्कीमा मिसाउँदै पिइरहन्छन् ।
‘खाना तैयार भयो होला, लिएर आऊँ?’ म अचानक उनीहरूको तरल दुनियाँमा हस्तक्षेप गर्छु र उनीहरूको जबाफ नलिईकनै हिँडिदिन्छु ।

जब फर्केँ म त्यहाँ, अझै पनि मस्त थिए तिनीहरू पिउनुमा नै । म विभिन्न परिकारले भरिएका आफ्ना हातका प्लेटहरूलाई टेबलमा बिसाउँछु, अरू रित्ता प्लेटहरू पनि फिँजाइदिन्छु, काँटा–चम्चाहरू पनि राखिदिन्छु ।

यही समय बची क्याबिनको उउटा कुनामा अचानक उउटा रातो बत्ती बल्छ, जहाँ एक किसिमको एउटा सानो रगमञ्च प्रस्टै देखिन्छ । र रङ्गमञ्चको रातो पर्दाको परिदृश्यमा ठूलो आवाजको सङ्गीत गुञ्जन लाग्छ ।

सबै पात्रहरूका आँखा रगमञ्चमा जान्छन् र त्यही रगमञ्चमा उपस्थित छु, अर्को म ।
मादकताले भरिएका ती आँखाहरूबिच एकदमै सजिएको ड्रेसमा म नाच्न लाग्छु, परिदृश्यमा बजाइएको उत्तेजक गीत सँगसँगै, ‘चोली के पिछे क्या है…।’

नाच्दानाच्दै म हेरिरहन्छु ती पात्रहरूलाई, जो कानेखुसी गरिरहेका हुन्छन् एकआपसमा, भनौँ गफ गरिरहेछन् तर सङ्गीतको त्यो ठूलो आवाजमा आपसका कुराकानी कानेखुसीझैँ लाग्छ ।

म महसुस गर्छु, अश्लीलताले सिँगारिएको उनीहरूका शब्दहरू । म बुझिरहन्छु, उनीहरूको उत्तेजक भावभङ्गीमा ।
र अर्कोगीत बज्छ, म नाचिरहन्छु । नाच्दानाच्दै म गीतकै तालमा आफ्नो शरीरको बाहिरी पहिरन खोल्छु ।
ताली बजाउँछन् पात्रहरू, म हेरिरहन्छु । फेरि अर्को गीत बज्छ । यसपटक मेरो शरीरमा नाम मात्रैको कपडा बाँकी रहन्छ ।
… पात्रहरू टाढैबाट चुम्बन फ्याँक्छन्,

घुटुघुटु थुक निल्छन्,
अर्थात् मबाट भरिपूर्ण सन्तुष्टि लिइरहन्छन् ।
र एउटा त्यस्तो समय आउँछ, जब ढुनमुनिँदै उठ्छन् पात्रहरू । आफ्नो खल्तीमा कुनै एक पात्रले हात हाल्छन्, बिल भुक्तानी गर्छन्, अर्थात् अन्धकारप्रायः त्यो साँझमा खल्तीबाट निकालिएको नोटले त्यो पूरै समयको मूल्य चुकाउँछन् ।

०००
म देख्छु, पात्रहरू त्यो टेबल छोडेर गइसकेका छन् र लाग्छ, जाँदाखेरि उनीहरूले मानौँ मलाई आफ्नै साथमा लिएर गएका छन् ।

अहँ, केही–केही नै छाडेनन् तिनीहरूले मेरा ।
मेरो शरीर,
मेरो नृत्य,
मेरा हाउभाउ,
मेरा शृङ्गार,
मेरो सौन्दर्य,
र मेरो त्यो गोधूलि साँझ ।

हो उनीहरू गए तर आफ्नो उपस्थितिलाई अप्रत्यक्ष रूपले छाडेर गए । अर्थात् उही पात्र उही चरित्रको रूपमा उही राउन्ड टेबलमा फेरि अन्यपात्रहरूको प्रवेश हुन्छ ।

…र यस प्रकार म जारी राखिरहन्छु आफ्नो भूमिका, प्रत्येक साँझ क्याबिनमा । एकै शब्दमा भनूँ, म यौनसन्तुष्टि दिलाइरहन्छु, क्याबिनमा आउने प्रत्येक पात्रहरूलाई ।

मलाई थाहा छैन, यो मेरो भोको पेटको निर्देशन हो कि मेरो बैँसालु शरीरको माग??
म आफ्नो भूमिका निर्वाह गरिरहेछु । पात्रहरूका अगाडि–

कहिले उभ्याइन्छु,
कहिले टँसाइन्छु,
कहिले नचाइन्छु,
कहिले नङ्ग्याइन्छु ।
बस्, क्याबिनको म एक पात्र… केवल एउटी कठपुतली ।

प्रतिक्रिया
Loading...