साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई डा. चन्द्र गिरीको आत्मकथा ‘मैले नदेखेको सपना’ प्राप्त भएकाे छ ।

नेपालको दुर्गम पहाडी जिल्ला खोटाङका जन्मिएर थाइल्याण्ड हुँदै अमेरिकालाई कर्मथलो बनाएका गिरी अन्तर्राष्ट्रिय स्तरका वातावरण वैज्ञानिक हुन् । उनी हाल अमेरिकी सरकारको वातावरण मन्त्रालयमा वरिष्ठ सल्लाहकार तथा ड्युक विश्वविद्यालयमा एड्जन्क्ट प्रोफेसर छन् ।

पुस्तकका बारेमा युनिभर्सिटी अफ न्यु हेवेन, अमेरिकाका प्रोफेसर डा. कमलप्रसाद उपाध्याय लेख्छन्, ‘यस पुस्तकमा लेखकले आफ्नो जीवनको उतार–चढावको बारेमा बडो राम्रो ढङ्गबाट चित्रण गर्नुभएको छ । यो पुस्तक पढेपछि लाग्छ कि लगनशीलताका साथ मिहिनेत गर्ने र हरेश नखाने हो भने जीवनमा आफ्नो उदेश्य प्राप्त गर्न जरुर सकिन्छ । युवाहरुको लागि यो प्रेरणादायी पुस्तक हो ।’

त्यस्तै, साहित्यकार नीलम कार्की निहारिक लेख्छिन्, ‘नदेखेको सपनामा– गामवेसी छ । शहरको रहरसँगै कहर छ । देश–परदेश सबै छ । त्यहाँभित्रका रुढी, अज्ञानता, अशिक्षाको सजीव प्रस्तुति छ नै । वर्तमान भौगोलिक, भौतिक संरचना, भौगोलिक अवस्था, बद्लिँदो वातावरण अनि प्रभाव छ । विज्ञानले मारेको ठुलो फड्को पनि छ ।’

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । ४ सय १६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय रुपियाँ रहेको छ ।