साहित्यकार तथा वरिष्ठ युरोलोजिस्ट अर्जुनदेव भट्टको नवीनतम उपन्यास हो, ‘दोस्रो जीवनको चुरो’ । पुस्तकमा डाक्टर भट्टले शारीरिक रूपमा अपाङ्ग भएर निर्भीक रूपमा सपाङ्ग जीवन बाँचिरहेका पात्रहरूको कथा कहेका छन् ।

‘पछिल्लो पन्ध्र वर्ष मेरा क्लिनिकमा आउने बिरामीमाझ ह्विलचेयरमा गुडेर आउनेहरूको सङ्ख्या अद्भुत रूपमा वृद्धि भएर आएको छ । केही बिरामीको साथ कोही सहयोगी आए पनि ती प्रायःजसो एक्लै आएको पाउँछु । यो देख्दा शारीरिक रुग्णता तथा अशक्तताले जीवनयात्रा रोक्न असक्षम हुँदोरहेछ भन्ने प्रष्ट हुन्छ ।’, मन्तव्यमा भट्ट लेख्छन्, ‘स्पाइनल इन्जुरीजस्तो जटिल चोटपटक खपेर पनि मानिस हँसिलो अनुहार लिएर ह्विलचेयरमा कुदिरहेको देख्दा शिर निहुराएर नमन गर्ने मन हुन्छ । कत्रो साहस र उच्च मनोबल कर्ममा खट्न र जीवनयात्रा सफल पार्न आवश्यक सङ्घर्ष गर्न । यी सबैका पछाडि मानसिक सन्तुलन हुनै पर्छ । यही कुरालाई मध्यनजरमा राखेर तयार भयो उपन्यास दोस्रो जीवनको चुरो ।’

त्यस्तै, पुस्तकको भूमिकामा साहित्यकार कलानिधि दाहाल लेख्छन्, ‘राष्ट्रवादी सोचले ओतप्रोत उपन्यासकार अर्जुनदेव भट्ट आफ्नो वैचारिक जीवनशैली जस्तै रूपमा स्वयम्भु बनेर उभिएको छ यो कृति । यस देशका अर्धवयस्कहरू यस उपन्यासको एक मात्र नायक दावाले झैं विदेशमा छरेको श्रमबाट अर्जित पूँजी स्वदेशमा ल्याएर उद्योगधन्दामा लगाउने हो भने वयोवृद्धा बेलामा विदेशमा झैं चिहानको खोजीमा छट्पटाउनु पर्दैन ।’

पुस्तकलाई लेखक स्वयंले प्रकाशनमा ल्याएका हुन् । १ सय पृष्ठमा फैलिएको उपन्यासको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।