
राजनीतिज्ञ तथा विचारक प्रदीप गिरिको स्मृतिमा तयार पारिएको स्मृतिग्रन्थ हो, ‘मैले चिने–जाने–बुझेका प्रदीप गिरि’ । श्रीमती भारती सिलवाल–गिरिको प्रधान सम्पादकत्वमा प्रकाशित कृतिको कार्यकारी सम्पादकको भूमिकामा विमल भौकाजी र कपिल लोहनी रहेका छन् ।
कृतिमा वर्तमान राष्ट्रपति रामचन्द्र पौड्याल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण’ तथा पूर्व राष्ट्रपति डा. रामवरण यादवको शुभकामना रहेको छ । श्रीमती भारती सिलवाल–गिरिको प्राक्कथनबाट शुरु भएको ग्रन्थमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईका साथै गगन थापा, स्वामी आनन्द अरुण, खगेन्द्र संग्रौला, डा. डिला संग्रौला, विप्लव प्रतीक, दमननाथ ढुंगाना, यज्ञशलगायत एक सय बढी राजनीतिज्ञ, साहित्यकार, पत्रकार तथा नागरिक समाजका अगुवाहरूका संस्मरण तथा लेखहरू संकलित छन् ।
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिको स्मरणमा लेख्छन्, ‘उहाँजस्ता प्रेरणादायी व्यक्तित्वसँग मैले पनि समय–समयमा राय, सल्लाह, सुझाव लिएको छु । उहाँसँग सच्चा मित्रका रूपमा निकट रहेर काम गर्न पाउनु मेरा लागि पनि गौरवको विषय थियो । अद्भुत तार्किक क्षमताका कारण जिज्ञासु समुदाय उहाँका कुरा सुन्न झुम्मिन्थ्यो ।’
त्यस्तै, पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लेख्छन्, ‘उहाँ बोल्न उठ्दा प्रदीप गिरि के बोल्नुहुन्छ भन्ने कौतूहलले संसद् पक्ष–विपक्ष नभनीकन स्तब्ध हुन्थ्यो । नेपाली राजनीतिको मात्रै होइन, नेपाली कांग्रेसको मात्रै होइन, प्रदीप गिरि वास्तवमै नेपालको बौद्धिक जगत्को एउटा ‘आइकन’ हो ।’
त्यस्तै, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्मरण गर्छन्, ‘एकदिन मैले कुरैकुरामा उहाँलाई प्रस्ताव राखें – प्रदीपजी, तपाईं जस्तो वैचारिक उचाइ भएको मान्छे यो देशको राष्ट्रपति बन्नुपर्छ । उहाँले हाँस्दै भन्नुभयो – हुन्छ, तर मलाई राति बाह्र बजे एक्लै सडकमा घुम्न दिनुहुन्छ ?’
स्वामी आनन्द अरुण लेख्नुहुन्छ, ‘सक्रिय राजनेता भए पनि मैले उहाँमा कहिले पनि अहङ्कारको एक लेसा पनि देखिनँ । उहाँ सुपेरियर र इन्फेरियर दुवै कम्प्लेक्सबाट पूर्ण मुक्त व्यक्ति हुनुहुन्थ्यो । मैले प्रदीपजीलाई कहिल्यै निराश पनि देखिनँ ।’
त्यस्तै, साहित्यकार खगेन्द्र संग्रौला लेख्छन्, ‘कांग्रेसी बौद्धिकहरूको विशाल पंक्तिमा प्रदीपजी एक त्यस्ता बौद्धिक थिए, जो वीपीसँग आँखा जुधाएर वैचारिक वार्ता गर्न सक्थे, जो वीपीसँग विमति राख्ने आँट गर्थे । वार्ता गर्न वीपीसँग आँखा जुधाउने यो चेष्टा र विमति राख्ने यो आँट प्रदीपको विलक्षण बौद्धिक सामथ्र्य र उद्दाम नैतिक शक्तिबाट निसृत थियो ।’
ग्रन्थलाई प्रदीप गिरि मेमोरियल ट्रस्टले प्रकाशनमा ल्याएको हो । ४ सय १६ पृष्ठमा फैलिएको, हार्डकभरमा रङ्गिन साजसज्जाका साथ छापिएको ग्रन्थको मूल्य २ हजार ५ सय रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

