
ध्रुव जोशीको निबन्ध सङ्ग्रह हो ‘आफैंलाई खोज्दै’ । जोशीले पूस्तकमा नयाँ चिन्तन र चेतनालाई प्रयोग गरेर सरल निबन्ध लेख्नुभएको छ ।
“साहित्यिक फाँटमा अपरिचित नाम हो ध्रुव जोशी । प्रकाशनमा पातलोसँग देखा परेका हुनाले पनि धेरै कम सर्जकहरूलाई मात्र थाहा होला उनका सिर्जना संसार बारेका कुरा । तर उनी असाहित्यिक मानिस भने किमार्थ होइनन् ।”, पुस्तकको समीक्षामा माधव काफ्ले लेख्नुहुन्छ, “रचना प्रकाशन, लेखनको साठीऔँ वसन्त पार गरिसकेको उम्दा साहित्यिक स्तर र चेतना भएका सिर्जनधर्मी हुन् उनी । भौतिकरुपमा मैले पनि उनलाई चिनेको, देखेको छैन । उनको सिर्जन संसारमा प्रवेश गरेपछि उनलाई चिनिरहनु आवश्यक पनि लागेन । उनको परिचयका द्योतक बनेर सिर्जना नै हात परेपछि मैले परिचयको उत्कण्ठालाई थाती राखी सिर्जनाको सेरोफेरोमा घुम्दै बढो आल्हादित किसिमले त्यसभित्र छचल्किरहेँ । धेरै मानिसहरू निबन्ध त्यति मन पराउँदैनन् र त्यति पढ्दैनन् पनि । निबन्ध विधाप्रति वितृष्णा त नहोला । तर आकषर्ण पनि निबन्ध विधाले गुमाउँदै जान थालेको यथार्थलाई नकारी हाल्न पनि सकिने अवस्था छैन । सतहमा निबन्धका असली उपाशकहरू कम जाँगरिला देखिनु र निबन्ध विधालाई अन्य विधाको तुलनामा अलि उपेक्षित दृष्टिले हेर्न खोज्दा पनि त्यस्तो भएको अर्थात् अर्थ लागेको हुनसक्छ ।”
त्यस्तै, जोशी ‘आफूलाई खोज्ने प्रयासमा’ लेख्नुहुन्छ, “मेरो यस निबन्धसङ्ग्रहमा समेटिएका केही निबन्धहरूको रचनाकाल मेरो प्रोफेशनल करियरको शुरुवातका दिनहरू थिए । आफ्नो प्रोफेशनमा परिचय बनाउने प्रयासरत थिएँ । त्यसबेलाको राजनीतिक परिवेश पनि त्यस्तै हालतबाट गुज्रिरहेको थियो । नयाँनयाँ व्याख्या र परिभाषा रच्दै आफ्नो औचित्य स्थापित गर्न लागिपरेका थिए । त्यो बेलाका मेरा रचनाहरू त्यस कालको बाछिटाले जताततै निथ्रुक बनाएको पाउनु हुनेछ । अन्य सबै रचनाहरू व्यवस्था परिवर्तनपछिका हुन् । जहाँ म साहित्यको विद्यार्थी नभएकोले त्यस बखतको साहित्यिक माहोल र सङ्गतमा मेरो आवतजावत थिएनँ ।”
पुस्तकलाई स्वदेश पब्लिकेशनले प्रकाशनमा ल्याएको हो । अठार वटा निबन्ध सङ्ग्रहित पुस्तकको मूल्य ३ सय ५० रुपैयाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

