‘फुल्दाफुल्दै फूल जरामा फुलिसक्यो
हिँड्दाहिँड्दै जून पातालमा पुगिसक्यो

र, पनि फूल फुलेकै छ उसैगरी
र, पनि जून चम्केकै छ उसैगरी
निर्धक्कसँग
किन हो ? – स्वयम् फूललाई थाहा छैन
किन हो ? – स्वयम् जूनलाई थाहा छैन

बरु
फूलविहीन हाँगो
र, जूनविहीन आकाश भने
बाल्दैछन् –
एउटै चिन्तामा बारम्बार
अब जरामा फूलको
र, पातालमा जूनको सुरक्षा
कसले गर्छ हँ ?’
(पातालमा जून, पृ. १२)

कवि सिर्जन श्रेष्ठको पहिलो कविताकृति हो ‘हावामा अल्झिएको स्वर’ । कृतिमा सङ्ग्रहित कविताहरूबाट श्रेष्ठले प्रकृति, सम्बन्ध, गाउँ तथा समाजका विविध प्रवृत्तिहरू चियाउने प्रयास गरेका छन् ।

‘मानिसहरू एकअर्कालाई माया गर्छन् । गरिरहन मन गर्छन् । सधैं सँगै बस्न पाइयोस्, कहिल्यै छुट्टिन नपरोस् भन्ने चाहन्छन् ।’, कृतिका बारेमा कवि मञ्जुल लेख्छन्, ‘तर जिन्दगी त्यस्तै हुँदैन । विभिन्न कारणले छुट्टिनुपर्ने पनि हुन सक्छ । यस्तो बेला छुटेको साथीले भनेका कुराहरू सम्झँदा जीवन अर्थपूर्ण हुन्छ । कवि सिजन श्रेष्ठ आफ्ना कवितामा आफ्ना प्रिय पाठकलाई यो कुरातिर औंल्याउँछन् ।’

त्यस्तै, कवि श्रेष्ठ लेख्छन्, ‘कविता मेरा लागि थेरापी हो । तनावको बेला सधैं म सुन्दर कविताहरू पढ्ने पर्छु । र, तनावबाट दूर हुन्छ । माया गर्ने मानिसहरूको माया नपाउँदा, साथ नपाउँदा कविता पढ्ने र लेख्न गर्छु । र, प्रेमको अनुभूति गर्ने गर्छु । प्रिय साथीहरूको अनुपस्थितिमा उनीहरूलाई सम्झिएर कविता पढ्छु–लेख्छु । र, साथी बनाउँछु तिनै कविताहरूलाई ।’

कविताकृतिलाई इटर्नल पब्लिकेशन प्रा.लि.ले प्रकाशनमा ल्याएको हो । ५२ थान कविताहरू सङ्ग्रहित पुस्तकको मूल्य ४ सय ५ रुपियाँ रहेको छ ।