‘घाम खराब हुन्छ कहिले पानी खराब हुन्छ
भलाद्मी लाग्ने कसैको बानी खराब हुन्छ
टोलाएर असम्भव सपना नदेख्नू कहिल्यै
अचेल बुढेस कालको जवानी खराब हुन्छ ।’ (पृ. १७)
छन्दकवितामा पृथक् पहिचान बनाएकी कल्पना काफ्लेको नवीनतम मुक्तकसङ्ग्रह हो, ‘अशान्त धड्कन’ । काफ्लेले यस कृतिमा विकृत बन्दै गएको प्रेमसम्बन्ध, बिटुलिएको राजनीति, अनियन्त्रित अतृप्त चाहना, उदासीनता सर्वत्र पाउन सकिन्छ ।
‘अहिले हामीले भोगेका समय अशान्त छ । हामी बाँचेको जीवनको परिधि र परिवेश अशान्त छ ।’, पुस्तकको भूमिकामा साहित्यकार विवश पोखरेल लेख्छन्, ‘यस्तो स्थितिमा मुक्तककार कल्पना काफ्लेका हृदयका धड्कन अशान्त हुनु स्वभाविक हो । उनका भावना, विचार र अनुभूतिका घाइते धड्कनभित्र जीवनका अनेक दृश्य–परिदृश्य मुक्तकीय स्वरूपमा आएका छन् । यसभित्रका मुक्तकहरूले जीवन, समय र प्रकृतिका विविधतालाई समेटेको छ । जहाँ कतै राजनीतिक विद्रूप, कतै प्रेमका रोमाञ्चक अनुभूति कतै स्वार्थ र छलकपटका छाया प्रतिविम्बित छन् ।’
त्यस्तै, पुस्तकमा मुक्तकार काफ्ले लेख्छिन्, ‘साहित्यले समाजका अन्तरकुन्तरको विकृति सफा गर्न सकिन्छ भन्ने बोध गर्न निकै माथापच्चिसी गर्नुपर्यो । विविध मञ्चमा उभिएर घाँटी सुकाउनु पर्यो । अब त समाजबोध र आउने पुस्तालाई प्रेरित गर्न पनि लेख्नुपर्ने परिस्तिथि आयो भन्ने एक खालको जिम्मेवारीको जुवा काँधमा बोकेर लेखें अशान्त धड्कन ।’
पुस्तकलाई बी.एन. पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । २२० थान मुक्तकहरू सङ्ग्रहित कृतिको मूल्य ३ सय २५ रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।