
साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई कवि प्रकाश सम्घालीको बेजोड कवितासङ्ग्रह‘साँझको सङ्गत’ प्राप्त भएकाे छ ।
७१ पृष्ठमा मौलाएको यस पुस्तकमा ‘बर्दीको मान्छे’, ‘मेरी दिदी’, ‘राष्ट्रिय गीत’, ‘प्रेमको यात्रा’, ‘तिमीलाई सम्झिएको दिन’, ‘सजिलो छु’, ‘बिर्सने बानी’ लगायत ४४ थान कविता सङ्ग्रहित छन् ।

साँझको सङ्गत
जीवनका महत्त्वपूर्ण समय सैनिक सेवामा बिताएका प्रकाश सम्घालीका कवितामा युद्ध वा द्वन्द्वको अवस्थामा मोर्चाबद्ध हुँदा पनि अधिक मानवीय न्यानोपनको स्पर्श गर्न पाइन्छ ।
भूमिकामा श्यामल उल्लेख गर्छन्, “दर्शनार्थीहरूको भीडका बीच पनि मौन तपस्वीजस्ता लाग्ने यी कविताहरूको अन्तर्ध्वनिमा एक भयानक बेचैनी र हलचल देखिन्छ । आफू बाँचेको समयलाई उनले बाहिरबाट जस्तो देखिएको छ, त्यस्तो चित्रित गरेका छैनन् । बरु त्यसभित्र पस्ने र त्यसको तापको विशिष्ट अनुभवलाई शब्दबद्ध गर्ने काम उनले गरेका छन् । उनले बुट बजार्दै कविता सोचे, बुट बजार्दै लेखे । अब उनीसँग बुट बाँकी छैनन् । कवितामा तिनको पदचाप अझै स्पष्ट सुनिन्छ । यस सङ्ग्रहका लागि कवि प्रकाश रम्घालीलाई बधाई छ ।”
“स्यानैबाट पाका मानिसहरूसँग सङ्गत गरेँ । तिनै मानिसहरूबाट मैले सिकेँ– श्रमको महत्त्व, प्रेमको भाषा र आदि सत्यहरू । सिक्दै गएँ– जिउने कला र दर्शनहरू । बुझ्दै गएँ– एउटा असल नागरिक हुनुको कर्तव्य र मानिसले निर्माण गरेका धर्म, संस्कृति र इतिहासहरू ।” प्रकाश रम्घाली लेख्छन्, “म मानिसहरूकै बीचमा छु अहिले पनि । मानिसभन्दा ठूलो अर्को ईश्वर छैन कम्तीमा मेरो लागि । प्रत्येक मानिस एउटा सुन्दर कविता हो । लेखिनु÷नलेखिनु अर्कै कुरा । थाहा छैन – कहिलेबाट कवितातर्फ आकर्षित भएँ ? मैले लेख्दा के हुन्छ ? नलेख्दा के हुँदैन ? अथवा गीत, सङ्गीत र कला हुँदैनथ्यो भने मानिसको अनुभूति कुन माध्यमबाट अभिव्यक्त हुन्थ्यो होला ?”
पुस्तकलाई ईटर्नल पब्लिकेसनले बजारमा ल्याएको हो र यसको मूल्य २ सय रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
