
सुराही तिमी
मौसम नै पिउँला
बैंशालु वाचा ।
युवा हाइजिन अभिश्रीको हाइकुसंग्रह हो, पवित्र क्रान्तिमाथि एक सय एक हाइकु । हाइजिन अभिश्रीले हाइकुको सत्र अक्षरको संरचनामा रहेर प्राणी र प्रकृतिको सम्बन्धलाई धेरै कोणबाट संग्रहमा प्रस्तुत गर्नुभएको छ ।
”नेपाली साहित्यमा अहिले जापानी शैलीको सानो कविता अर्थात् हाइकु लेखनको क्रमले निरन्तरता पाइरहेको छ । विशेष गरी स्थापित साहित्यकारदेखि नवोदित लेखककहरू पनि हाइकु लेखनमा लागिपरेका छन् । यस सन्दर्भमा सानै उमेरमा हाइजिन अभिश्रीको ‘पवित्र क्रान्तिमाथि एक सय एक हाइकु’ संग्रह नेपाली हाइकु इतिहासमा एउटा उपहारको रूपमा आएको छ ।”, पुस्तकमा दिव्य गिरी लेख्नुहुन्छ, ”हाइकुको सामान्य सिद्धान्तभित्र रही ‘पवित्र क्रान्ति’को भाव र महत्त्वलाई पूर्णतः आत्मसात गर्दै सिर्जना गरिएका सबै हाइकुहरूको विशेषता अति महत्त्वका छन् र एउटै विम्बलाई पनि पृथक–पृथक भावमा अभिव्यक्त गर्न सक्ने खुबी अभिश्रीमा पाइन्छ, जसले गर्दा उनका हाइकुहरू मननीय, पठनीय र प्रशंसनीय छन् ।”
हाइजिन अभिश्री आफ्नो कुरामा लेख्नुहुन्छ, ”घरमा साहित्यिक वातावरण थियो । मेरो ड्याडी (महेश प्रसाईं) केही नलेखी वा केही नपढी बस्न नसक्ने । खुब लेख्नुहुन्थ्यो । लेखिरहनुहुन्थ्यो । उहाँका कविताहरूले झकझकाइरहेको अनुभव हुन्थ्यो मलाई पनि । ड्याडीले आदरणीय पवन चाम्लिङ र पवित्र क्रान्तिमाथि लेख्नुभएको थाहा छ मलाई । पवन चाम्लिङ र पवित्र क्रान्ति मैले बराबर सुन्दै आइरहेका शब्दहरू हुन् । मैले यसअघि ‘बितेका दिनका हाइकु’हरू लेखिसकेकी थिएँ । त्यसको पनि संग्रह नै बनाइसकेकी छु मैले । यतिले चित्त बुझेन । पवित्र क्रान्ति जे बुझेँ, जति बुझेँ त्यसैमा डुबेर लेख्न पुगेकी थिएँ । अब यसमाथि नै केन्द्रित भएर अघि बढ्न मन लाग्यो । मैले यसबारे ड्याडीलाई चुनौती दिएकी थिएँ । त्यसैले यी पनि लेख्दालेख्दै ‘एक सय एक’ भएछन् ।”
पुस्तकलाई छाया प्रकाशनले बजारमा ल्याएको छ । एक सय एक ओटा हाइकु समेटिएको पुस्तकको मूल्य १ सय ५० रुपैयाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

