“पहिचानका लागि महिला आवाज” नामक संस्थाद्वारा साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितका नवीनतम तीन बाल कृति बाटुली (कथासङ्ग्रह), मान्या मेरी छोरी (कथासङ्ग्रह) र जूनतारा (कवितासङ्ग्रह) माथि जुम प्रविधिमार्फत विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
भुँडी पुराण प्रकाशनबाट प्रकाशित बाटुली र जूनतारा तथा अक्षरधाम प्रकाशनबाट प्रकाशित मेरी छोरी मान्या माथि भएको विमर्श कार्यक्रमलाई प्यानल डिस्कसन नाम दिइएको थियो । उक्त डिस्कसनमा लेखक स्वयं इन्द्रकुमार श्रेष्ठ सरित् सहित रञ्जुश्री पराजुली, छायाँदत्त नेउपाने र ज्ञाननिष्ठ ज्ञवालीको सहभागिता रहेको थियो ।
विमर्शको क्रममा साहित्यकार सरितले आफूले बालबालिकाका लागि एकादेशको कथा नलेखेर यथार्थको धरातलमा कथाहरूको सिर्जना गरेको बताएका थिए भने अन्य सहभागी वक्ताहरूले विशेषतः इन्द्रकुमार श्रेष्ठ सरितका बालकथामा मनोविज्ञान र मनोविश्लेषण पक्ष मुखरित हुनुका साथै बालबालिकालाई मिहिनेती र संघर्षशील हुनुपर्ने नैतिक शिक्षा र सन्देश रहेको प्रकाश पारेका थिए ।
सरितको कृतिमाथि प्रकाश पार्ने तथा शुभकामना मन्तव्य व्यक्त गर्ने अन्य वक्ताहरूमा साहित्यकार लक्ष्मी उप्रेती, सरस्वती श्रेष्ठ सरु, इन्द्रप्रसाद अधिकारी, चन्द्रप्रसाद अधिकारी, सुमन वाङ्देल, रश्मि शर्मा, केशव पराजुली आदि रहेका थिए ।
संस्थाका उपाध्यक्ष अनुराधा खकुरेलको सभापतित्वमा भएको उक्त कायॅक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्राडा ध्रुव घिमिरेले सरितको बाल साहित्य लेखनमाथि प्रकाश पार्दै आफ्नो धारणा राखेका थिए । संस्थाका अध्यक्ष सुधा मैनालीले कार्यक्रमको सञ्चालिका तथा मोडरेटरको भूमिका निर्वाह गरेकी थिइन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।