बिगत साढे चार दशकदेखि नेपाली साहित्यमा साधनारत इन्द्रकुमार श्रेष्ठ सरित् मुलत: कथाकारको रुपमा चर्चित र स्थापित स्रष्टा हुन् ।

 

कथाबाहेक पनि सरितले कविता, गीत, गजल, मुक्तक, उपन्यास, समीक्षा, समालोचना आदिमा निरन्तर कलम चलाइरहेका छन् । यस अघि कथा, कविता, उपन्यास, अन्तर्वार्ता, बाल कृति गरेर एघार थान कृति सार्वजनिक गरिसकेका उनै साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित्’का यसपटक एकैपटक तीन थान बाल कृति प्रकाशित भएको छ ।

 

“बाटुली” कथासङ्ग्रह र “जूनतारा” कवितासङ्ग्रह भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो भने मेरी छोरी मान्या कथासङ्ग्रह अक्षरधाम प्रकाशनले प्रकाशित गरेको हो । ‘बाटुली’ कथासङ्ग्रहमा नौ वटा कथाहरु संकलित छन् भने ‘जूनतारा’ कवितासङ्ग्रहमा दश वटा कविता संग्रहित छन् ।

 

त्यसैगरी ‘मेरी छोरी मान्या’ कथासङ्ग्रहमा पाँच वटा कथा संग्रहित छन् । ‘सरित्’का बालकृतिका बारेमा ज्ञाननिष्ठ ज्ञवाली लेख्छन्- इन्द्रकुमार श्रेष्ठ सरितद्वारा लेखिएका कथाहरु सन्देशमुलक छन् । यी कथाहरु विभिन्न स्वादयुक्त छन् ।

आकर्षक आवरण र सुन्दर साजसज्जाका साथ प्रकाशित सरित् का तीनै कृति अत्यन्त पठनीय हुनुका साथै बालबालिकाको भविष्य निर्माणका लागि सन्देशमुलक पनि छन् ।