तपाईंले कहिल्यै ख्याल गर्नु भएको छ, बाल साहित्यका चर्चित अनुहारहरू प्रायः पुरूषहरू नै वा बालकहरू नै छन् । चाहे त्यो द भेरी हङ्ग्री क्याटरपिलर होस् या क्याट इन् द ह्याट होस्, चाहे त्यो पिटर र्याबिट होस् या बाबर नै किन नहोस् । त्यहाँ तपाईंले बिरालीलाई मुख्य भूमिकामा देख्नुहुन्न न त कुनै खरायोकी स्वास्नी प्रमुख भूमिकामा हुन्छे ।

यसरी बाल साहित्यमा महिला चरित्रको अभावका कारण बालबालिकाहरूले साहित्य सिर्जना गर्न थाल्दा उनीहरूले पनि त्यसैको सिको गर्दै अधिकांशः अवस्थामा पुरूषहरूलाई नै मुख्य पात्र बनाई लेख्ने गरेको पाइएको छ ।

अक्सफोर्ड विश्वविद्यालयका मनोविदहरूको समूहले पाँचदेखि १३ वर्ष उमेर समूहका बालबालिकाले लेखेका ५०० शब्दसम्मका एक लाख पाँच हजार ३६९ कथाहरूलाई विश्लेषण गर्दा यस्तो अवस्था देखिएको बताइएको छ । बिबिसीले रेडियो २ र अक्सफोर्ड विश्वविद्यालय प्रेसले २०१९ मा एउटा बाल साहित्य प्रतियोगिता गराएका थिए । सो प्रतियोगितामा ठूलो संख्यामा बालबालिकाले सहभागिता जनाएका थिए ।

ती सबै कथाहरूको रौँ चिरा अध्ययनपछि मनोविदहरूले सो निष्कर्ष निकालेका हुन् ।

सोसाइटी फर रिसर्च इन चाइल्ड डेभलपमेन्टमा यो अध्ययन निष्कर्ष प्रकाशित गरिएको छ । जसमा ८५ प्रतिशत सहभागीहरूका चरित्र पुरूष छन् भने ५५ प्रतिशतले स्त्री जातिलाई प्रमुख भूमिका राखेर कथा उनेका छन् ।

बालकहरूका कथामा पुरूष प्रमुख चरित्र हुनु स्वाभाविक रहे पनि बालिकाहरूले लेखेका कथामा पनि प्रमुख रूपमा पुरूष नै मुख्य भूमिका देखिनु उदेकलाग्दो रहेको विज्ञजनको भनाइ छ ।

पाँच वर्ष उमेर समूहसम्मका बालिकाहरूले ७० प्रतिशत पात्रहरू स्त्री नै रोजेका छन् । १३ वर्षको उमेरसम्म आइपुग्दा त्यो क्रम घटेर आधाभन्दा बढी हुन पुगेको छ । यस्तैगरी, केटाहरूले पुरूषलाई मुख्य भूमिका दिएको प्रतिशत चाहिँ ८५ छ । पाँचदेखि १३ वर्ष उमेर समूहका सबैले यस्तो पात्र रोजेका हुन् ।

उसो भए बालिकाहरूले पनि पुरूष पात्रलाई मुख्य भूमिका दिन किन रूचाए त ?

यसको जवाफमा अध्ययनमा संलग्न विशेषज्ञहरूको उत्तर थियो, ‘बाल साहित्यमा जब बालबालिकाहरूले पुरूषहरू नै मुख्य पात्र देख्छन्, उनीहरूले गर्ने काम, उनीहरूको व्यवहार ती साहित्य पढ्ने बालबालिका दुवैमा उत्तिकै असर पर्छ । त्यसैले उनीहरूले लेख्ने भनेको पनि प्रभाव परेका विषयमा हुन्छ । त्यसैले उनीहरूले पनि पुरूषलाई नै मुख्य भूमिकामा राखेर लेख्नु अनौठो होइन ।’

यस्तो समस्यालाई क्रमशः घटाउनका लागि बढीभन्दा बढी स्त्री केन्द्रित कथा, स्त्रीहरूको बोलवाला हुने किसिमका पात्र, घटना र विविधतायुक्त कथानक बालसाहित्यमा आवश्यक पर्ने विज्ञहरूको भनाइ छ ।

यसअघि सन् २०११ मा अमेरिकामा प्रकाशित एक अध्ययनले पनि यस्तै किसिमको अनुभव देखाएको थियो ।

सन् १९०० देखि २००० सम्मको एक शताब्दीयता प्रकाशित लगभग ६ हजार बालसाहित्यमा अधिकांशतः पुरूषहरू नै मुख्य चरित्र देखिएका छन् । फ्लोरिडा स्टेट युनिभर्सिटीको समाजशास्त्रका प्राध्यापक जेनिस म्याकेबीले गरेको अध्ययनमा पुरूष पात्रहरू मुख्य चरित्रमा रहेको र त्यस्ता साहित्यको प्रतिशत ५७ प्रतिशत रहेको बताएकी छन् । यो प्रतिशत हरेक वर्ष उत्तिनै रहेको र त्यसमा कुनै कमी नआएको उनको अध्ययनले देखाएको छ । त्यस्तै ३१ प्रतिशत साहित्यमा भने स्त्रीहरू मुख्य पात्रका रूपमा देखिएका थिए ।

जनावरमाथि लेखिएका साहित्यमा पनि भाले पात्रहरूको प्रतिशत पोथीको तुलनामा बढी नै देखिएको थियो । भालेको प्रतिशत २३ छ भने पोथीको जम्मा ७.५ प्रतिशत रहेको पाइएको थियो ।

जेन्डर एन्ड सोसाइटी नामक जर्नलमा प्रकाशित अध्ययनले मुख्य गरी बाल साहित्य प्राप्त गरेका साहित्यलाई अध्ययनको आधार बनाएको थियो । काल्डेकट अवार्ड अमेरिकाको निकै प्रख्यात बाल साहित्य अवार्ड मानिनन्छ । त्यसमा प्रकाशित अधिकांश पुस्तकहरूमा पुरूष मुख्य पात्रका रूपमा देखिएका छन् । अपवादका रूपमा सन् १९८५ मा प्रकाशित तथा पुरस्कृत पुस्तक ह्याभ यु सिन माई डकलिङ ? रहेको छ । यसमा आफ्ना चल्ला हराएपछि खोज्न निस्किएकी हंसिनीको कथा छ ।

साहित्यमा पुरूषको साटो महिला कम हुन थालेपछि स्वाभावतः महिलाहरू आफू हुनुको परिचय पनि लुकाउने वा हच्किने वा पुरूषजस्तो बन्न खोज्ने सम्भावना बढी हुने अध्ययनमा देखिएको छ ।

प्रायः लिङ्ग नछुट्याएका कतिपय जनावरका पात्रहरूलाई आमाहरूले छोराछोरीलाई पढेर सुनाउँदा पुरूष पात्रका रूपमा सुनाउने गरेको समेत देखिएको छ । जसका कारण महिला प्रतिनिधित्व अझ घटेको समेत पाइएको अध्ययनले देखाएको छ ।