बाल साहित्यमा पछिल्लो समय राम्रा लेखक भन्दा पनि नाउँ चलेका व्यक्तिहरूबाट लेखाउने चलन बढेपछि बाल साहित्यका चर्चित अनुहारहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । पछिल्लो समय जब राजकुमार ह्यारीकी पत्नी मेगन मर्केल, दरबारिया सारा फर्गुसन, गायिका म्याडोनाजस्ता चर्चित अनुहारले धमाधम बालबालिकाका लागि किताब लेख्न थाले र त्यसका लागि मोटो रकमसमेत माग गर्न थाले, बाल साहित्यमा कलम चलाउनेहरूले त्यसमा आपत्ति जनाउन थालेका छन् ।

द डचेज अफ योर्क सारा फर्गुसेन
बेलायती बाल साहित्यमा सबैभन्दा बढी बिक्री हुने नाउँ रोआल्ड डाल हुन् । त्यसपछि एनिड ब्लाइटनको नाउँ आउँछ । यी दुवैका बाल पुस्तकहरू लाखौँ प्रति बिक्री भएका छन् ।
तर पछिल्लो समयमा हास्य अभिनेता डेभिड विलियम्स सेलिब्रेटी भइकन पनि उनका किताबहरू लाखौँ प्रति बिक्री हुन थालेका छन् । यही आशाका कारण जनजीवनमा भिजेका वा चिनिएका व्यक्तिलाई प्रकाशकहरूले धमाधम पुस्तक लेखाउने क्रम बढेर जान थालेको छ ।
गायिका म्याडोना, गायक फ्रान्क लाम्पार्ड, इद्रिस एल्बा यो सूचीमा परेका छन् ।
गएको महिना मात्र मेगन मर्केलले पेइन्गुइन रेन्डम हाउसका लागि श्रीमान राजकुमार ह्यारी र छोरा आर्चीबीचको आत्मियताबारे ‘द बेन्च’ नामक पुस्तक लेख्ने सम्झैता भएको थियो । सो सम्झैतापछि अब उनले थप नयाँ पुस्तकसमेत लेख्ने समेत जनाइएको छ ।
त्यसो त सबैले बाल पुस्तक लेख्न सक्छन् भन्ने छैन । गायिका म्याडोनाले लेखेको पुस्तक ‘द इङ्लिस रोजेज’ नामक पुस्तक सुपर फ्लप भएको थियो ।

द बिटल्स सांगीतिक समूहका एक सदस्य पल म्याक्कर्टनी
बालबालिकामाथि लेखिएका उत्कृष्ट पुस्तकहरूलाई अवार्ड दिने ब्लु पिटर अवार्ड २०१२ का जितेका लेखक गेरेथ पि. जोन्स साहित्यबाट आर्थिक सफलता हात पार्नु निकै कठिन भएको अवस्थामा बालबालिकालाई कुनै योगदानै दिन नसक्ने पुस्तकका सेलिब्रेटी लेखकलाई मोटो रकममा लेख्न लगाउनु दुर्भाग्य भएको बताउँछन् । उनले ‘द कन्सिडाइन कर्स’ पुस्तकबाट पुरस्कार मात्र होइन, आर्थिक सलफलतासमेत हात पारेका थिए ।
उनी भन्छन्, ‘कयौँ राम्रा लेखक छन्, जसले लेखनीले बालबालिकामा निकै राम्रो प्रभाव पार्न सक्छन्, त्यस्तालाई खोजीखोजी लेखाउन छाडेर प्रकाशकहरू धनीमानी र अनुहार बिक्नेका पछाडि दैडनु दुखद् हो ।’
जति पनि नाउँ चलेका तर फ्लप लेखक छन्, तिनको सूची हेरेरै प्रकाशकहरू चेत्नु पर्ने उनको भनाइ छ ।
पुस्तक प्रकाशन उद्योगमा बालबालिकाका पुस्तकहरूको महत्त्व निकै ठूलो छ । यसले वार्षिक रूपमा निकै ठूलो आर्थिक योगदान दिने गरेको छ तर प्रकाशकहरू भने तत्काल बढीभन्दा बढी बिक्री गर्ने लोभका कारण लामो समयसम्म बिक्री हुनसक्ने पुस्तकलाई नजरअन्दाज गरिरहेको उनको आरोप छ ।

गायिका म्याडोना
बजारमा को लेखक बढी बिक्री हुन्छ त ? यसबारेमा पहिलो पटक सन् २०१० मा नेल्सन बुकस्क्यान नामक संस्थाले अनुसन्धान गरेको थियो । जसअनुसार कलाकार डेभिड विलियम्स निकै माथि छन् । यस्तै बढी बिक्री हुने अन्य लेखकहरूमा जेके रोलिङ तथा जुलिया डोनाल्डसन रहेका छन् ।
सन् २०१९ मा नेल्सनले गरेको सर्भेमा सबैभन्दा बढी बिक्री हुने लेखकहरूमा कलाकार डेभिड विलियम्स, सङ्गीतकर्मी टम फ्लेचर र कमेडियन डेभिड बेडियल रहेका छन् ।
डेभिड विलियम्सले २६ वटा पुस्तक लेखेका छन् र ती पुस्तकले १०० मिलियन पाउन्डभन्दा बढी कमाएका छन् । विलियम्सले यस हिसाबले करिब १ करोड पाउन्ड किताब लेखेयता यस अवधिमा कमाइसकेका छन् । यस्तै सबैभन्दा बढी कमाउने अन्य लेखकहरूमा जेके रोलिङ र ज्याकलिन विल्सन पनि पर्छन् ।
प्रकाशकहरूले कुस्त रकम अग्रिम दिने हुनाले र त्यो अग्रिम रकमको लोभका कारण सेलिब्रेटीहरू किताब लेख्न तम्सने गरेको आरोप केहीको छ । जबकि उनीहरूभन्दा राम्रा बाल पुस्तक लेख्ने लेखकहरूले भने अग्रिम रकम दुई हजार पाउन्ड पनि पाउँदैनन् ।

चर्चित सांगीतिक ब्यान्ड स्पाइस गर्ल्सकी गायिका गेरी हेलिवेल
‘हिजोआज बाल साहित्य लेखनलाई निकै सजिलो कामका रूपमा लिने चलन बढेर गएको छ,’ वेटिङ फर मर्डर नामक बाल उपन्यासकी लेखिका फ्लिउर हिचकक भन्छिन्, ‘तर उनीहरूले सिकनुपर्ने पाठ के हो भने सेलिब्रेटी हुँदैमा किताब मस्तसँग चल्छ भन्ने छैन । म्याडोनाको उदाहरण तिनले देखेका छैनन् र ?’
प्रकाशकहरूले तिरेको अग्रिम रकमको कुस्त पैसा उठाउनैका लागि भए पनि आक्रामक विज्ञापन गरेर किताबलाई त्यत्तिकै हिट गराउने चलन पनि उत्तिकै बढेकोमा केही लेखकको असन्तोष देखिन्छ ।

हास्य अभिनेता डेभिड विलियम्स



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

