छक्क परेर हेर्छु जिन्दगीलाई
के यही जिन्दगी हो त ?
इन्जिन बिग्रेर ठेलाईमा अघि बढिरहेको गाडीजस्तै खुरुरु गुड्न नसक्ने
कहाँ जोल्टिड़्ग भेटिएला र
रोकिउँला भन्ने बहाना गरेजस्तो
निद्रामै डुबेर पनि निद्रा नपुगेजस्तो
उमेरछँदै बैंश पनि निख्रिएजस्तो
प्राप्तिमा कहिल्यै रमाउन नसकेको
भएनभएको अभावले रातोदिन गाँजेजस्तो

इन्द्रकुमार श्रेष्ठ सरित्

उफ जिन्दगी ! ए जिन्दगी, अब त भनिदे-
कति हिँड्नु ज्यूँदो जिन्दगीको मूर्दा मलामीजस्तो ।

देखेका कति कति सपनाहरू चिहानमा पुरिन्छन्
तिनै सपनाहरु चिहानबाट उठेर
रातमा हैन दिनमै बारंबार ऐठन पाछॅन्
भागेर जाउँभन्दा माकुराको जालो च्यातिन्न/च्यात्नै सकिन्न
मनले बस्न पटक्कै मान्दै मान्दैन
यही छातीमा हुरी, हण्डर र ठक्कर झेलेर
मायाको करोडौ फूल लत्याउँदै
ए मेरो जिन्दगी ! अब तैँले नै भनिदे-
जिन्दगीको रोमान्टिक गीत म कसरी गाउँ ?

कहिले बादलका बुट्टाहरुसँग मितेरी लाउँदै
कहिले उकाली चढ्दै, कहिले ओरालीझर्दै
आशा र विश्वासको पोकोलाई सधैं सधैं काखी च्याप्दै
उज्यालो र अक्षरका गीतहरु गाइरहेँ
छुनु थिएन मलाई जूनतारा
चाहनै थिएन छिड़छिड़ बज्ने कान्छीनानीको
भीडमा पनि एक्लै एक्लै भौतारी रहें
मायाअमृतको खोजीमा यायावर बनिरहेँ
तर कहिल्यै गुनासो गरिन जिन्दगीसँग
ए जिन्दगी ! अब तैंले नै भनिदे-
जिन्दगीप्रतिको मेरो यो आशक्ति
के मेरो जघन्य अपराध हो ?

क्यालेन्डर परिवतॅन भैरह्यो
तर म बदलिन मेरो मनले मानेन
खै यो कुरा मेरो जिन्दगीले बुझ्यो बुझेन
उसले मलाई कहिल्यै भनेन
ऊ मसँग रिसाएको हो कि
खुशी भएको हो ?
छ दशकको संगतले पनि खुट्याउन सकेन
जिन्दगी अब तैले नै भनिदे
पानी पनॅ पनॅ लागेजस्तो तेरो मेरो सम्बन्धलाई
म कसरी घमाइलो भनेर परिभाषित गरुँ ?

जिन्दगी: तेरो र मेरो सम्बन्ध
अर्थ्याएर पनि अर्थ्याइनसक्नुको
भए पनि सुख छैन नभए नि सुख छैन
किन हो सधैं अप्ठ्यारोमा आएको पिलोजस्तो
कहाँ खोजूँ बैद्य ? कहाँ खोजूँ गुभाजू ?
कहाँ देखाउँ डाक्टर ?
निचोरेर पिलोलोलाई
कहिले होला पिलोको टनटन दुखाईबाट मुक्ति ?
जिन्दगी: तेरै हात समातेर खोली धेरै तर्नु छ
जँघार धेरै धेरै नाँघ्नु छ
समातेको हात छोड्न म कहाँ दिन्छु र !
चुचरोमा पुगेर, ए जिन्दगी !
छताछुल्ल भएर पोखिने मिमिॅरे उषालाई
हामी दुबै मिलेर हेर्नुछ ।

– तरहरा (सुन्सरी)
हाल:- काठमाडौ