बोधराज पौडेल । पुतलीसडकको सहारा क्याफेमा भएको एक कार्यक्रमका बिच वरिष्ठ आख्यानकार इन्द्रकुमार श्रेष्ठ ‘सरित्’को लघुकथासङ्ग्रह ‘एकमुठी घाम’ विमोचन गरिएको छ । प्रतिनिधिसभाका सांसद एवम् पूर्वमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि रघुजी पन्तले पुस्तकको विमोचन गर्नुभएको हो ।

विमोचनपश्चात कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले साहित्यकार सरित्का रचनाहरू फुटकर रूपमै भए पनि आफूले प्रशस्त अध्ययन गर्दै आएको बताउनु भयो । भन्नुभयो, ‘आज विमोचित कृतिमा युग चेतना र समय चेतना प्रवलरूपमा रहेको छ । आगामी दिनमा स्रष्टाबाट अझ उत्कृष्ट कृति नेपाली साहित्यले पाउने विश्वास गरेको छु ।’

साहित्यकार दिल पौडेलको अध्यक्षतामा भएको उक्त विमोचन एवम् विमर्श कार्यक्रममा मन्तव्य व्यक्त गर्नेहरूमा प्राडा. गोपीन्द्र पौडेल, डा. शैलजा पोखरेल, डा. रमेश शुभेच्छु, कथाकार नारायण तिवारी र डा. पुष्करराज भट्ट रहनुभएको थियो ।

आफ्नो मन्तव्यको क्रममा प्राडा. पौडेलले विमोचित कृतिका स्रष्टा सरित् बहुमुखी प्रतिभाका धनी स्रष्टा भएको र उनी विशेषत नेपाली साहित्यमा आख्यान लेखनमा अग्रणी रहेको र अब लघुकथा लेखनमा पनि उनको आगमन हुनु सुखद् रहेको कुरा बताउनुभएको थियो । अन्य वक्ताहरूले पनि सरित्को करिब पाँच दशक लामो साहित्य साधनाको बारेमा प्रकाश पार्दै विमोचित कृतिले वर्तमान भ्रष्ट राजनीतिलाई उधिनेको कुरा उल्लेख गर्नुभएको थियो ।

विमोचित कृतिका स्रष्टा इन्द्रकुमार श्रेष्ठ सरित् स्वयम्ले पनि आफ्नो साहित्यिक यात्रा र उक्त कृति तयार पार्दाका आफ्ना अनुभवलाई व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका आयोजक सुभाना भिडिया प्रालिका प्रबन्ध निर्देशक एवम् पत्रकार शिव बिक मिलनले स्वागत मन्तव्य राख्नुभएको थियो भने साहित्यकार अच्युत घिमिरेले धन्यवाद ज्ञापन गर्नुभएको थियो । स्रष्टा इन्द्रकुमार श्रेष्ठ सरित्को बहुआयामिक व्यक्तित्वको बारेमा प्रकाश पार्दै प्राज्ञ चेतनाथ धमलाले अत्यन्त रोचक ढङ्गले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पन्तले सुभाना मिडिया प्रालिको तर्फबाट साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरित्लाई “सुभाना आख्यान सम्मान – २०८१” बाट सम्मान गर्नुभएको थियो ।