काठमाडौं । आख्यानकार तथा साहित्यिक पत्रकार इन्द्रकुमार श्रेष्ठ ‘सरित्’द्वारा रचित बालकथासङ्ग्रह ‘मेरी छोरी मान्या’ एक कार्यक्रमबीच विमोचन गरिएको छ।

राइजिङ स्टार बोर्डिङ स्कुल मन्डिखाटारले आयोजना गरेको उक्त कार्यक्रममा  कथाकार भागीरथी श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भई कृतिको विमोचन गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै भागीरथी श्रेष्ठले बालमनोविज्ञानलाई आत्मसात् गरेर लेखिएको ‘मेरी छोरी मान्या’ उत्कृष्ट बालकथासङ्ग्रह भएको उल्लेख गर्दै यसले बालबालिकालाई जीवन र समाज बुझ्न सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि चेतनाथ धमलाले कृतिमा बालबालिकाको चेतना र मनोविज्ञानलाई केन्द्रमा राख्दै समाजको सौन्दर्य, गतिविधि र परिवेशलाई प्रस्तुत गरिएको बताउनुभयो। उहाँका अनुसार पुस्तकमा समेटिएका कथाहरू बालबालिकालाई उत्प्रेरित गर्ने खालका छन्।

साहित्यकार लक्ष्मी उप्रेती र समालोचक छायादत्त न्यौपानेले पनि कृतिको समीक्षा गर्दै बालसाहित्य सिर्जनामा यसले सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा सर्जक सरितले बालसाहित्य समय, समाज र बालमनोविज्ञानसँग जोडिएको हुनुपर्ने धारणा राख्नुभयो।

विद्यालयका प्रिन्सिपल कृष्णकुमार बहोराको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार श्रीराम क्षेत्री, डा. रचना नकर्मीलगायतले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । साथै विद्यालयका विद्यार्थी उत्सान गिरी, स्मृति, प्रमिशा कँडेल र रिसिका गुरुङले कृतिमाथि समीक्षा प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रमको सञ्चालन साम्राज्ञी दाहाल र सृष्टि अधिकारीले गर्नुभएकाे थियाे ।