विन्दाः डुलेर हिँड्छु वागमा सदैव भृङ्ग झैँ गरी
लिएर राग पुष्पको हुँदै छु लठ्ठ यस्तरी
मनुष्य आँट खैँचिने विचित्र सृष्टिको कला
रहस्य मूल तत्त्वको बुझेर को बताउला ?

टङ्कः स्वदेश बाँझियो यहाँ विदेश त्यो हरभरा
सुसेल्न आउने भए सुगन्ध छन् गरागरा ।।

विन्दाः विदेशमा छु चिन्तना स्वदेशको म गर्दछु
सकिन्न बिर्सनै धरा सगर्व शीघ्र फिर्दछु ।।

टङ्कः अथाह सम्पदा हुँदा हिसाब छैन क्यै पनि
मुहार खुल्छ कान्तिमा विदेशमा उसै पनि
स्वदेश आँतमा लिई पवित्र मन्त्र गाउनू
उखेल्नु पर्छ जीर्ण यी भरेर आँट आउनू ।।

विन्दाः अपार प्रेम देशको म भित्र सल्बलाउँछ
छ बाध्यता विदेशिने खुसी कहाँ दिलाउँछ ?
बिहान साँझ रातमा छ सम्झना स्वदेशको
जुटौँ न दाजु देशमै उठोस् धरा जुरुक्क त्यो ।।

टङ्कः यहाँ भएन ध्यान क्यै सबै विदेश भासिए
यहाँ रहेन चेत क्यै विचार धर्म मासिए
इमानको कुनै यहाँ भएन राष्ट्र चालक
सबै विदेशिँदा झनै हुँदै छ भित्र आहत ।।

विन्दाः भए नि चेत गर्नु के लिएर भोक पेटमा
न चल्छ जिन्दगी त्यसै हुँदैन द्रव्य साथमा
न बुझ्छ मर्म लोकको सशक्त राष्ट्र नायक
भविष्य सोचियो ठुलो पढाउनै छ बालक ।।

टङ्कः अगाध प्रेम त्यो भए रमाउँला स्वदेशमा
भरेर कर्म सिर्जना कमाउँला स्वदेशमा
हिमालको पहाडको मधेसको छ बासना
व्यथा लिएर भित्र त्यो नबस्नु है प्रवासमा ।।

विन्दाः छ जन्मभूमि नेत्रमा सदैव हुन्छु यादमा
यदाकदा म सोच्छु यै फिरूँ फिरूँ स्वदेशमा
भए नि द्रव्य दान यी मिलेन शान्ति आँतमा
फिरेर फेरि गर्नु के म वृद्ध त्यो उमेरमा ?

टङ्कः खनेर खाउँला स्वयं विपन्नता हटाउँला
स्वदेश मर्ममा भए परान धान्न पाउँला
सबै विदेशमा गए रुनेछ देश धर्धरी
झुकेर बाँच्नु व्यर्थ हो कृतघ्न बन्छ जिन्दगी !

विन्दाः रहेर मातृ काखमा भरिन्न प्यासको घडा
विपन्न जिन्दगी सधैँ समाज भैदियो कडा
भयो नि द्रव्य नै ठुलो समस्त देख्छु तौलिने
भएन द्रव्य क्यै भने सबै परै ततर्किने ।।

टङ्कः स्वदेश यो विपन्न भो बनेन योजना कुनै
कुरा भए स्वतन्त्रका भएन साधना कुनै
छ भोक भित्र पेटमा दिँदैन शब्दजालले
सुधार शीघ्र चाहियो हुँदैन सुस्त चालले ।।

विन्दाः सुधार छैन देशमा अशान्ति देख्छु सर्वदा
भएन लागु ऐन क्यै निराश हुन्छु सम्झिँदा
न भन्नु दाजु फर्क है यहीँ छु एक चित्तमा
बिताउँदै छु जिन्दगी जुधेर यो प्रवासमा ।।

टङ्कः कथा व्यथा अपार छन् विदेशमा छ जिन्दगी
कहाँ सुसेल्नु मर्म यो विवेक हुन्छ बन्धकी
रमेर सभ्य देशमा नभुल्नु है यतातिर
भुलेर जन्म यो धरा नडुल्नु है त्यतातिर ।।

विन्दाः भुलिन्न जन्मभूमि त्यो चटक्क मूल्य मान्यता
छ आँतमा स्वदेश नै भुलूँ कहाँ म सर्वदा ?
रचेर गीत गाउँदै सुनाउँदै छु आज यो
छ स्वर्ग तुल्य त्यो धरा पवित्र धाम बुद्धको ।।

टङ्कः प्रवास बासमा छँदा हुँदैन शान्ति चैन क्यै
कुनै प्रहारले छुँदा परिन्छ भ्रान्ति ऐनमै
नभन्नु भित्र छौँ खुसी लुटिन्छ त्यो विदेशमा
दबिन्छ स्वाभिमान यो अनर्थमा विभेदमा ।।

विन्दाः गुमाउँदा कुनै कुरा छ अन्य प्राप्ति भैदिने
बुझेर सत्यता यही मनुष्य धैर्य भैदिने
जुधेर नित्य कर्ममा खुसी नियाल्नु पर्दछ
लिएर धैर्यता जिए अवश्य शान्ति मिल्दछ ।।

टङ्कः गुमाउने र पाउने छ नित्य खेल जिन्दगी
छ खिन्न भोकमा कुनै कुनै अजीर्ण जिन्दगी
कुरा कमाउने हुँदा विचार बन्छ बन्धकी
सकिन्न बुझ्न क्यै यहाँ रहस्यमै छ जिन्दगी !

विन्दाः महत्त्वपूर्ण जिन्दगी रहे पछाडि देश हो
बुझौँ न प्राण हो ठुलो अभाव भित्र ढल्छ यो
कमाउनै प¥यो यहाँ विचार थुन्न वेश हो
सकिन्न जिन्दगी बुझी रहस्यपूर्ण भैदियो !

टङ्कः विदेशमा रहेर नै स्वदेश गीत गाउनू
सुभावना लिई लिई प्रशस्त प्रीत लाउनू
वसन्त वाग छन् त्यहाँ सुवासमा रमाउनू
अपूर्ण प्यास छन् यहाँ खुसी लिएर आउनू ।।

विन्दाः बुझेर मर्म वीरका म पाइला चलाउँछु
सबेर देशमा फिरी स्वदेश नै सजाउँछु
सुभावना जगाउँदै समाजमा म धाउँछु
अवश्य मातृभूमिको मुहार त्यो हँसाउँछु ।।

टङ्कः पवित्र लाग्छ भावना स्वदेश प्रेमले छुँदा
अनन्त दिव्य कामना छ भन्नु भित्र सर्वदा
प्रमाणमा सजाउँला सुवर्णका घडाहरू
स्वदेशमै रमाउँला बनाउँला कथाहरू ।।

विन्दाः असङ्ख्य सौम्य चाहना मनुष्यभित्र फुल्दछन्
गरून् हुरुक्क जत्ति नै यसै अपूर्ण बन्दछन्
बुझाउने छु चित्तले भरिन्छ यो घडा कहाँ ?
म फिर्छु फिर्छु देशमै सजाउँला कथा नयाँ ।।

टङ्कः चुलिन्छ राष्ट्रप्रेम यो अखण्ड पूज्य भावमा
विचार बस्छ ब्रह्ममा प्रभाव छर्छ आँतमा
जुनै कुना गई बसौँ स्वदेश हुन्छ सम्झना
नसा नसा शरीरमा स्वदेशकै छ बन्दना

विराटनगर घर भई हाल जापानमा बस्ने साहित्यकार विन्दा पराजुली बराल र टङ्क पन्थका बीचमा फागुन २९ गतेका दिन भएको पञ्चचामर छन्दमा दोहोरी