टंक पन्थ

टंक पन्थ

सभ्यता बाँच्छ यो हाम्रो पूर्वको पहिचानमा
खोजेर कसले भेट्छ नेपाली महिमा घना
संयोग योगमा चल्ने विश्वासी ब्रह्मचिन्तन
झल्किन्छन् साथमा हाम्रा कर्मका दिव्यसिर्जना ।।

चालमा चालले चल्छन् गाल दिन्नन् कसै गरी
सभ्यता उठ्छ माथामा पूर्ण बन्छन् उसै गरी
पुर्खाका देन हुन् सारा संस्कृति सम्पदाहरू
आस्थाले बन्दना गर्छन् संयमी शिल्प आबरु ।।

बाँच्दछन् भिन्नताभित्र चेतना तŒव भर्दछन्
हाम्रा यी ध्यानका मुद्रा गर्विला ज्ञान बन्दछन्
खाना छन् सादगी उस्तै तामसी हुन्न भन्दछन्
जागा छन् मन्त्रणा हाम्रा आलसी खिन्न बन्दछन् ।।

यज्ञका योजना हुन्छन् कर्मका चरु होम्दछौँ
गक्ष्यका साधना हुन्छन् निर्विघ्न लक्ष्य चुम्दछौँ
शान्तिका गीतका भाका नादमा नित्य झुल्दछन्
ज्ञानका रश्मिका आभा चाँदमा भव्य खुल्दछन् ।।

वेदका मन्त्रमा खोजौँ मिल्छ विज्ञानको चुरो
स्वेदका कुण्डमा डुब्दा खुल्छ संज्ञानको कुरो
नेपाली श्रमको मूल्य खोजौँ विश्वबजारमा
गासको आसमा जान्छन् लाखमा यी हजारमा ।।

सुनौला दिनका आशा प्रतीक्षा व्यर्थ यी भए
हाँक्नेले किन हाँकेनन् स्वार्थका मार्गमा गए
जनता भित्र छन् ज्वाला निभाउने छ को यहाँ
ममता भित्रका प्याला सजाउने छ को यहाँ ?

आँतमा देशको मायाँ बोकी जान्छौँ विदेशमा
सभ्यता भित्रका गाथा सजाउँदै विवेकमा
भोलिका सपना बोकी घण्टामा काम गर्दछौँ
के दियो देशले आज मर्मको प्रश्न गर्दछौँ ।।

छन्दः अनुष्टुप