बाँच्नुको सार यो जिन्दगी भित्र छ
विज्ञले जान्दछन् जो कला सूत्र छ
ज्ञानका चक्षुले दिव्यता खुल्दछन्
अल्पज्ञान भए मर्म नै भुल्दछन् ।।
ब्रह्मआनन्द यै प्राप्तिको स्वर्ग हो
साधनाशक्ति नै मुक्तिको मार्ग हो
आसुरी कर्मले लान्छ है गर्तमा
बाँच्नुको सार क्यै हुन्न यो मत्र्यमा ।।
सूक्ष्म संज्ञानमै दृष्टि यो डुल्दछ
भित्रका ध्यानले तŒव नै खुल्दछ
भिन्नछन् रूप यी भिन्नछन् वर्ण यी
भिन्नबाटै उठी बन्दछन् पूर्ण यी ।।
सृष्टिमा द्वन्द्व छन् व्यक्तिमा द्वन्द्व छन्
द्वन्द्वकै चक्रमा पिण्ड यी घुम्दछन्
द्वन्द्वकै गर्भमा राग छन् द्वेष छन्
द्वन्द्वकै कर्ममा शान्त यी बन्दछन् ।।

टंक पन्थ
सत्यका मार्गमा हिँड्छ यो सभ्यता
सत्यकै पक्षमा भिड्छ यो सर्वदा
योग्यता उठ्दछन् योजना साथमा
न्याय नै मर्दछन् मूर्खका मातमा ।।
खुल्दछन् चेतना फुल्दछन् ज्ञान यी
सृष्टिका फाँटमा बन्दछन् पूर्ण यी
शब्दमा ब्रह्म होस् गीतमा मन्त्र होस्
भावमा ओजिलो गर्विलो अर्थ होस् ।।
चित्तमा अड्दछन् सूक्ष्म ती चिन्तन
चित्तकै खेल हो जिन्दगी दर्शन
चित्त यो खिन्न भै भन्छ बेकार भो
दृष्टि बेहोसमा ठान्छ धिक्कार यो ।।
मार्ग छन् भिन्न यी प्राप्ति छन् भिन्न यी
भित्र खोज्दै गए एक छन् जान यी
धर्म हो मित्रता पाप हो शत्रुता
रोज लौ आत्मले मार्ग तिम्रो कता ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

