

टंक पन्थ
हुन्छन् लेन र देन कर्म सजिलै छैनन् इमानी जहाँ
साट्छन् रे अनुहार ख्याल नगरी बस्छन् जमानी यहाँ
गिल्ला हुन्छ जताततै पदक ती पाएर के काम भो ?
सस्तो भो उपहार मान पदवी चर्चा छ सम्मानको
गर्छन् सेटिङ भित्रबाट कसरी लाजै नमानीकन
थाप्छन् हात लुसुक्क सज्जन स्वयं झर्को नमानीकन
हेक्का राख सुवर्ण मिल्छ सजिलै बेला छ यो दामको
गाऔँ है गुणगान साहस गरी चर्चा छ सम्मानको
पाए दर्जन थान मान कसरी धामी थिए को कता ?
सुन्दैमा जनता अचम्मित भए लाजै लजायो यता
पैसा फ्याँक्न सके गुथिन्छ पगरी यो जिन्दगी सान हो
गल्ली चोक सबै तरङ्गित भए चर्चा छ सम्मानको
मैले दिन्छु तिमी समात अहिले पालो गरौँ जानियो
साटासाट गरौँ पवित्र मनको सम्मान हो ठानियो
लेखे काव्य कथा व्यथा समयमै हेक्का भयो कामको
आफैँ गर्व गरौँ समाउन सकौँ चर्चा छ सम्मानको
मान्छेको मन हो अचेतनसँगै बढ्छन् अपेक्षाहरू
बर्को साथ समस्त विज्ञ जनका मिल्छन् शुभेच्छाहरू
लोभीका मतिले र आत्मरतिले फिक्का भयो मान यो
तातेको छ सुषुप्त प्राज्ञ अहिले चर्चा छ सम्मानको
लागौँ लेख्न रचौँ अजस्र रचना पाइन्छ सम्मान त्यो
जागौँ देख्न सकौँ युगीन सपना गाइन्छ सम्मान त्यो
ज्यादा मोह गरे डढाउँछ सबै आँखा खुले ज्ञान भो
भद्दा मञ्चन पोखरातिर भयो चर्चा छ सम्मानको !
छन्द शार्दूलविक्रीडित



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

